सिँगारियो सिद्धबाबा मन्दिर, सुरक्षाका लागि सीसी क्यामेरा र स्वयंसेवक परिचालन

सिँगारियो सिद्धबाबा मन्दिर, सुरक्षाका लागि सीसी क्यामेरा र स्वयंसेवक परिचालन

बुटवल : पाल्पाको सिद्धबाबा मन्दिरमा महाशिवरात्रि पर्वका अवसरमा लाग्दै आएको महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको भएको छ।

शनिबार सिद्धबाबा मन्दिर विकास समितिका अनुसार भक्तजनले सहज रूपमा मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
 
महाशिवरात्रिको अवसर पारेर पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्वबाबा मन्दिरलाई सिँगारिएको छ। मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरिएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए।
 
उनका अनुसार वृद्ध वृद्धा, अशक्त, असहायहरूले भने सिधै मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन्। दर्शनार्थीहरुको सुरक्षाका सुरक्षाकर्मी, स्वयंसेवकसहित २ सय जना परिचालन गरिने समितिले जनाएको छ। त्यस्तै १८ वटा सिसी क्यामेराले निगरानी गर्ने अध्यक्ष शेरचनले बताए।

सिद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ता चप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको उनको भनाइ छ। गत वर्षको शिवरात्रिमा ४५ हजार बढी भक्तजनले दर्शन गरेको बताउँदै अध्यक्ष शेरचनले यो वर्ष ६० हजार बढी भक्तजन भित्राउने गरी तयारी गरिएको जानकारी दिए। भक्तजनहरूलाई दर्शनका लागि बिहान ३ बजेदेखि नै मूल मन्दिर खुला गरिने प्रचारप्रसार संयोजक तोया लम्सालले जानकारी दिए।

उनले साढे २ घण्टा भित्रमै भक्तजनले मन्दिर दर्शन गर्न सक्ने गरी व्यवस्थापन मिलाइएको बताए। मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र कामना सेवाका आधा दर्जन सशुल्क बसको व्यवस्था मिलाइएको उनको भनाई छ। 

बुटवलको योगीकुटी, कालिकानगर, अस्पताल लाइन, देबिनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक र गोलपार्कबाट बस छुट्नेछन्। भक्तजनलाई दिनभर यातायात सेवा उपलब्ध गराउने गरी बस समितिहरूसँग सम्झौता गरिएको पनि लम्सालले बताए। सिद्धबाबालाई पश्चिम नेपालको पशुपतिका रूपमा विकास गर्ने गरी मुख्य मन्दिरको जीर्णोद्धार गर्न लागिएको अध्यक्ष शेरचनले बताए। 

धार्मिक तथा ऐतिहासिक क्षेत्र सिद्धबाबामा नेपालका विभिन्न जिल्लाहरूसँगै भारतबाट समेत भक्तजन आउने गरेका छन्। यस वर्ष शिवको महिमा अपार,मूल मन्दिरको जीर्णोद्धार भन्ने नाराका साथ महाशिवरात्रि पर्व मनाउन लागिएको अध्यक्ष शेरचनले बताए।

फागुन २, २०८२ शनिबार २०:४९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।