कांग्रेस प्रवक्ता भन्छन् : 'सामाजिक सञ्जालको आक्रोश र मतपत्रको छाप फरक हुन्छ'
पाटन : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिने आक्रोशलाई व्यावहारिक रूपमा सम्बोधन गर्न कांग्रेसले प्रशासनिक सुधार र लगानी सुरक्षाको मुद्दालाई प्राथमिकता दिने बताएका छन्।
प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिँदै उनले देशभित्रै लगानीको वातावरण बनाउन र जनमैत्री प्रशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए।
“देशको अर्थतन्त्र र नागरिकसँग भएका क्षमता तथा सम्भावनालाई कसरी देशको अर्थतन्त्रमा पुँजीकृत गर्ने भनेर कांग्रेसले ध्यान दिन्छ, देशभित्र लगानीको वातावरण तयार गर्न, देशभित्रको पुँजीको संरक्षण गर्न र अन्तर्राष्ट्रिय लगानी भित्र्याउन कांग्रेसले जिम्मेवार भएर काम गर्छ,” उनले भने।
चालिसेले देशको भविष्य कांग्रेससँग जोडिएको बताए। कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जनताको आदेशलाई शिरोधार्य गर्ने उनको भनाई छ। पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा जाने उनले बताए।
“सुधारिएको देश र जनमैत्री प्रशासनका विषयवस्तु नै प्रचारप्रसारका विषय हुनेछन्, सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा फरक हुन्छ,” उनले भने। चालिसेले सुधारिएको कांग्रेसबाट जनताले गरेको अपेक्षालाई कसरी सम्बोधन गर्दै सच्चिनु र सुध्रिनु पर्छ भनेर पार्टीले धारणा बुझ्ने प्रयास गरिरहेको बताए।
प्रचारप्रसारका गतिविधिबारे नियमित रूपमा जानकारी गराइने उल्लेख गर्दै उनले पार्टीको विषयमा विचार-विमर्श गर्दै जाने बताए। यही फागुन ६ गते जनकपुरमा पार्टीले जनसभा आयोजना गर्ने चालिसेले जानकारी दिए। कांग्रेससँगका अपेक्षा बुझ्न डबली कार्यक्रममार्फत कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो।
चालिसेले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति कांग्रेसको उच्च सम्मान रहेको उल्लेख गर्दै प्रचारप्रसारका गतिविधि विवेकपूर्ण हुने र जनताको घरदैलोमा सम्मानजनक तरिकाले उपस्थित हुने बताए। कांग्रेसका उम्मेदवार घरदैलोमा पुग्दा आम कार्यकर्ता र जनतामा आएको उत्साहले हौसला र प्रेरणा मिलिरहेको भन्दै उनले देशभर ठूलो सङ्ख्यामा कांग्रेस प्रवेश गर्ने लहर बढ्दै गएको बताए।
चालिसेले लोकतन्त्रको संरक्षण र व्यवस्थाको रक्षाका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्ताका साथै आम नागरिकको संलग्नता जरुरी भएको बताए। कांग्रेसले प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा तयार पारेको प्रतिज्ञा पत्र आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने उनले जानकारी दिए।
फागुन २, २०८२ शनिबार २०:२४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।