महाशिवरात्रिमा दर्शनार्थीका लागि प्रहरीको १३ बुँदे आग्रह, सुरक्षा र व्यवस्थापन कडाइ
काठमाडाैं : महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूको सुरक्षा, सुविधा र भीड व्यवस्थापनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले १३ बुँदे विशेष अनुरोध सार्वजनिक गरेको छ।
शनिबार जारी गरिएको सूचनामा शिवरात्रिका दिन अत्यधिक भीडभाड हुने तथा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले दर्शनार्थीलाई निर्धारित नियम पालना गर्न आग्रह गरिएको हाे।
प्रहरीले बहुमूल्य गरगहना लगाएर नआउन तथा महँगा सरसामान साथमा नबोक्न विशेष अनुरोध गरेको छ।
पशुपति क्षेत्रको वातावरण र निर्धारित मापदण्ड अनुसार प्लास्टिकका झोला, कप, प्लेट आदिको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। दूध वा गंगाजल ल्याउँदा काँचका भाँडाको प्रयोग नगर्न पनि सचेत गराइएको छ।
मन्दिर परिसरको मर्यादा र सुरक्षालाई ध्यानमा राख्दै प्राङ्गणभित्र मोबाइल फोन तथा क्यामेरा प्रयोगमा रोक लगाइएको प्रहरीले जनाएको छ। त्यस्तै छालाबाट बनेका सामान—जुत्ता, चप्पल, ज्याकेट तथा कम्मरपेटी लगाएर मन्दिर प्रवेश गर्न नपाइने भएकाले तोकिएको स्थानमा सुरक्षित रूपमा राखेर मात्र दर्शन गर्न भनिएको छ। भक्तजनको सुविधाका लागि प्रत्येक दर्शन मार्गमा छुट्टाछुट्टै जुत्ता-चप्पल कक्षको व्यवस्था गरिएको छ।
भीड व्यवस्थापनका लागि पङ्क्तिबद्ध रूपमा दर्शन गर्न, अरूको अधिकारमा असर पर्ने व्यवहार नगर्न तथा कुनै विशेष टिकट वा पासको व्यवस्था नरहेकोले सबैले समान रूपमा लाइनमा बसेर दर्शन गर्न र दर्शन सकिएपछि तुरुन्त परिसर बाहिर निस्कन प्रहरीले आग्रह गरेको छ।
शारीरिक रूपमा असक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई सहज दर्शनका लागि सहयोग गर्न सर्वसाधारणलाई अपिल गरिएको छ। साथै, शिवरात्रिका बेला पाकेटमार सक्रिय हुन सक्ने भन्दै आफ्नो सामानप्रति सजग रहन पनि सचेत गराइएको छ।
शारीरिक रूपमा असक्त र ज्येष्ठ नागरिकहरूलाई सहज दर्शनको निम्ति सहयोग पुर्याउन पनि सर्वसाधारणलाई अपिल गरिएको छ। साथै, शिवरात्रिका बेला पाकेटमार सक्रिय हुन सक्ने भन्दै आफ्नो सामानप्रति सजग रहन पनि सचेत गराइएको छ।
यसैगरी, दर्शनका क्रममा कोही अस्वस्थ भएमा परिसरभित्र सञ्चालन हुने स्वास्थ्य शिविरमा सम्पर्क गर्न तथा सामान वा व्यक्ति हराएमा तत्काल प्रहरी शिविर वा खोजखबर कक्षमा जानकारी गराउन अनुरोध गरिएको छ। मन्दिर क्षेत्र स्वच्छ राख्न जथाभाबी फोहोर नगर्न र तोकिएका शौचालय मात्र प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ।
यस वर्ष महाशिवरात्रि आइतबार परेको छ। हरेक वर्ष महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूको घुँइचाे लाग्ने गरेकाे छ।
यसवर्ष महाशिवरात्रिका दिन कम्तीमा आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ भने करिब चार हजार साधुसन्तहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
फागुन २, २०८२ शनिबार १८:०६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।