टी-२० विश्वकप : ओमानमाथि आयरल्याण्डको ९६ रनको जित
काठमाडौं : आइसीसी टी-२० विश्वकप क्रिकेटमा आयरल्याण्डले ओमानलाई ९६ रनको अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ।
शनिबार कोलम्बोको सिंहली स्पोर्ट्स क्लबमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय लियो। आयरल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३५ रन बनायो, जुन यस विश्वकपको हालसम्मकै उच्च स्कोर हो। २३६ रनको विशाल लक्ष्य पछ्याएको ओमानले १८ ओभरमा १३९ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा ओमानका ओपनर आमिर कलीमले अर्धशतकीय पारी खेले। उनले २९ बलमा ५० रन बनाए। उनीबाहेक हम्माद मिर्जाले ३७ बलमा ४६ रनको योगदान दिए पनि अन्य ब्याटर चल्न सकेनन्। आयरल्याण्डका लागि जोशुआ लिटलले ३ विकेट लिए भने म्याथ्यु हम्फ्रेज र ब्यारी म्याकार्थीले २-२ विकेट हात पारे। जर्ज डकरेलले १ विकेट लिए भने आशिष ओडेदरा र हम्माद मिर्जा रन आउट भए।
त्यसअघि ब्याटिङ गरेको आयरल्याण्डका लागि कप्तान लोर्कन टकर र ग्यारेथ डेलानीले शानदार अर्धशतक प्रहार गरे। टकरले ५१ बलमा ९४ रनको उत्कृष्ट अविजित पारी खेले भने डेलानीले ३० बलमा ५६ रन जोडे। त्यस्तै, जर्ज डकरेलले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै मात्र ९ बलमा ३५ रन जोडेर टोलीको स्कोरलाई उच्च स्थानमा पुर्याए। ओमानका तर्फबाट बलिङमा शकील अहमदले ३ विकेट लिए भने शाह फैजल र आमिर कलीमले १-१ विकेट लिए।
फागुन २, २०८२ शनिबार १६:१४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।