डा. अनिशाको चिकित्सकीय अनुभव : बुवालाई कलेजो दान गर्ने छोरीले फोन गरेर बिहेमा बोलाइन्, बेहुली देख्दा मेरा आँखा रसाए

डा. अनिशाको चिकित्सकीय अनुभव : बुवालाई कलेजो दान गर्ने छोरीले फोन गरेर बिहेमा बोलाइन्, बेहुली देख्दा मेरा आँखा रसाए

मानव शरीरका सबैभन्दा जटिल मानिने अंगहरू- कलेजो, प्यान्क्रियाज, आन्द्रा र पित्त नली। यी अंगभित्रका रोगसँग लडेर बिरामीलाई नयाँ जीवन दिनु चानचुने कुरा होइन।

घण्टौसम्म अप्रेसन थिएटरमा उभिएर, रगत र मासुका तन्तुहरूसँग खेल्दै बिरामीको धुकधुकी जोगाउनु डा. अनिशा तिवारीको नियमित दिनचर्या हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को ‘जीआई हेपाटोबिलियरी सर्जरी’ विभागमा सहायक-प्राध्यापकका रूपमा कार्यरत डा. अनिशाको परिचय केवल एक शल्यचिकित्सक (सर्जन) मा मात्र सीमित छैन।

उनी एक छोरी, एक पत्नी, एक आमा र कलेजो प्रत्यारोपण जस्तो अति संवेदनशील विधामा आफूलाई अब्बल सावित गरेकी एक साहसी महिला पनि हुन्।

बिरामीको रोग काटेर फाल्ने मात्र होइन, उनीहरूसँग भावनात्मक साइनो गाँस्ने डा. अनिशाका भोगाइ र अनुभवहरू उनले उकेरासँग साटेकी छन्:

जब बिरामी कुरुवाबाट ‘विवाहको निम्तो’ आयो
चिकित्सकीय पेशा प्राविधिक जस्तो देखिए पनि यसको सम्बन्ध मानवीय संवेदनासँग गहिरो गरी जोडिएको हुन्छ।

कहिलेकाहीँ बिरामी र तिनका आफन्तसँगको सम्बन्ध औषधि र प्रेस्किप्सनभन्दा माथि उठ्छ। भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत रहँदाको एउटा घटना डा. अनिशाको मानसपटलमा अझै ताजा छ।

प्रसङ्ग केही वर्ष अघिको हो। अस्पतालमा करिब ५० वर्षका एक पुरुष अन्तिम अवस्थामा ल्याइएका थिए। उनको कलेजो पूर्ण रूपमा खराब भइसकेको थियो, जसलाई चिकित्सकीय भाषामा ‘एक्युट अन क्रोनिक लिभर फेलियर’ भनिन्छ।

ती पुरुषको जीवन बचाउने एउटै विकल्प थियो- कलेजो प्रत्यारोपण, त्यो पनि तत्कालै।

समय घर्किसकेको थियो, तर आशा मरेको थिएन। ती पुरुषकी छोरीले बुवालाई आफ्नो कलेजोको टुक्रा दान दिने निधो गरिन्। एक छोरीले बुवालाई ‘पुनर्जन्म’ दिने यो निर्णय आफैँमा भावुक थियो। कानुनी र चिकित्सकीय प्रक्रिया पूरा भयो।

डा. अनिशा र उनको टिमले जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्यो। छोरीको कलेजोको टुक्राले बुवाको शरीरमा नयाँ जीवन सञ्चार गर्यो।

केही दिनको अस्पताल बसाइपछि बुवा र छोरी दुवै स्वस्थ भएर घर फर्किए। यो एउटा डाक्टरका लागि नियमित सफलता जस्तो देखिए पनि कथा यतिमै सकिएन।

समय बित्दै गयो। डा. अनिशाले भक्तपुरको जागिर छाडेर पाटन अस्पतालमा सेवा सुरु गरिन्। एक दिन उनको मोबाइलमा घन्टी बज्यो।

फोन गर्ने उनै युवती थिइन्, जसले बुवालाई कलेजो दिएकी थिइन्। ‘डाक्टरसाब, मेरो विवाह छ। हजुर जसरी पनि आउनुपर्छ है!’ आफ्नो बुवाको ज्यान बचाइदिने डाक्टरलाई उनले बिर्सिएकी थिइनन्।

डा. अनिशा दुविधामा परिन्- बिरामीको बिहेमा जाने कि नजाने? तर, त्यो निम्तो केवल औपचारिकता थिएन, त्यो त कृतज्ञताको निमन्त्रणा थियो। उनी गइन्। विवाह मण्डपमा बेहुली बनेकी ती छोरी र छेउमै उभिएका स्वस्थ बुवालाई देख्दा डा. अनिशाको मन आनन्दले भरियो।

ती बुवाले डाक्टरलाई देख्नासाथ भने, ‘डाक्टरसाब, तपाईंहरूले बचाइदिनुभयो र त आज कलेजो दिने छोरीको कन्यादान गर्न पाएँ। मेरा लागि योभन्दा ठूलो खुसीको क्षण अरू के होला र?’

यो भनाइले डा. अनिशाको आँखा रसायो। बिरामी निको भएर घर फर्कनु डाक्टरको सफलता हो, तर निको भएको बिरामीले आफ्नो जीवनका खुसीहरूमा डाक्टरलाई सम्झनु आत्मसन्तुष्टि हो। यो घटना उनको चिकित्सकीय जीवनको सबैभन्दा सुन्दर क्षणमध्ये एक हो।

मृत्युको मुखबाट खोसिएकी त्यो एक्ली आमा
सफलताका कथाहरू जति रमाइला हुन्छन्, आकस्मिक कक्षमा आउने केसहरू उति नै कहालीलाग्दा हुन्छन्। करिब एक वर्षअघिको कुरा हो, पाटन अस्पतालको इमर्जेन्सी वार्डमा करिब ३० वर्षीया महिला छटपटाइरहेकी थिइन्।

श्रीमानले छोडेर एक्लिएकी ती महिला लडेर घाइते भएकी थिइन्। आर्थिक अभाव र चेतनाको कमीले एक सातासम्म घरेलु उपचारमै थन्किइन्। जब पीडा सहनै नसक्ने भयो, बुवाको सहारामा अस्पताल आइपुगिन्।

जाँच गर्दा पत्ता लाग्यो- चोटका कारण उनको आन्द्रा फुटेर पेटभित्र संक्रमण फैलिसकेको थियो। उनको अवस्था अत्यन्त नाजुक थियो।

डा. अनिशा राति नै अस्पताल पुगिन्। बिरामीको अवस्था देखेर चिकित्सकको टिम नै हच्कियो। ‘बचाउन सकिएला र?’ भन्ने प्रश्न सबैको अनुहारमा थियो।

तर, एउटा सानो सात वर्षे बालकको अनुहारले डा. अनिशालाई यो केसमा हार मान्न दिएन। ती महिलाको मृत्यु हुनु भनेको त्यो बालक टुहुरो र बेसहारा हुनु थियो।

जोखिम मोलेरै शल्यक्रिया गरियो। फुटेको आन्द्रा जोडियो, पेट सफा गरियो। नभन्दै, मृत्युको मुखमा पुगेकी ती महिलाले नयाँ जीवन पाइन्। केही दिनपछि डिस्चार्ज हुँदा ती महिलाको आँखामा देखिएको कृतज्ञता शब्दमा बयान गर्न सकिँदैनथ्यो।

फलोअपमा आउँदा ती महिलाले आफ्नो छोरालाई साथमै ल्याएकी थिइन्। त्यो कलिलो बालकलाई देख्दा डा. अनिशाले मनमनै सोचिन्, ‘धन्न आमाको ज्यान बाँच्यो, नत्र यो बालकको हालत के हुन्थ्यो होला!’

एक शल्य चिकित्सकले अपशब्द बोलेको त्यो दिन...
शल्यक्रिया कक्षभित्र डाक्टरको लिङ्ग होइन, सीप चल्छ। तर, समाजको पितृसत्तात्मक सोच अस्पतालको पर्खालभित्र पनि छिर्दो रहेछ। डा. अनिशाले आफ्नो करिअरमा थुप्रै बाधा पार गरिन्, तर एउटा घटनाले उनलाई गहिरो चोट पुर्यायो।

नेपालमा एमएस (सर्जरी) पढ्दा महिला सर्जनहरू औंलामा गन्न सकिने संख्यामा थिए। बिरामीहरू समेत ‘ओहो! महिला डाक्टरले चिरेर अप्रेसन गर्न सक्लान् र?’ भनेर शंका गर्थे।

यो त जनचेतनाको कमी थियो, जसलाई उनले कामले जवाफ दिइन्। तर, पढेलेखेकै ‘सिनियर’ डाक्टरबाट अपमानित हुनुपर्ला भनेर उनले सोचेकी थिइनन्।

एक निजी स्वास्थ्य संस्थामा काम गर्दा आफूलाई सिनियर दाबी गर्ने एक पुरुष सर्जनले डा. अनिशालाई ‘महिला भएकै कारण’ तल्लो स्तरको गालीगलौज र अपशब्द प्रयोग गरे।

ती डाक्टरले आफ्नो गल्ती ढाकछोप गर्न उल्टै सञ्चारमाध्यम प्रयोग गरेर ‘मिडिया ट्रायल’ गर्ने प्रयाससमेत गरेको उनको अनुभव छ।

‘एक जना पुरुष सर्जनले मलाई महिला भएकै कारण आत्म सम्मानमा नै चोट पुग्नेगरी अपशब्द बोल्दै पूर्वाग्रही भएर गाली गर्नु भएको थियो,’ डा. अनिशा भन्छिन्,‘त्यस्ता व्यक्तिलाई त के भन्ने र?’ ती पुरुष चिकित्सकले बोलेका ती अप शब्द उनी सम्झन चाहँदिनन्।

त्यो घटनाले डा. अनिशालाई पाठ सिकायो- सत्यको गहिराइमा नपुगी बाहिर आउने सूचनाले कति ठूलो मानसिक तनाव दिन्छ भन्ने। अन्ततः उनले त्यो संस्था छोडिन्।

यद्यपि, यो एउटा अपवादबाहेक उनले आफ्ना गुरू र सहकर्मी पुरुष चिकित्सकहरूबाट सधैँ हौसला र सहयोग नै पाएको बताउँछिन्।

डिल्लीबजारदेखि चीनसम्मको यात्रा
काठमाडौंको डिल्लीबजारमा २०४२ सालमा जन्मिएकी अनिशाको पारिवारिक पृष्ठभूमि शैक्षिक थियो। हजुरबुवा-हजुरआमादेखि बुवाआमासम्म सबै शिक्षित।

तीनकुनेस्थित ‘भीएस निकेतन’ बाट २०५७ सालमा ८० प्रतिशतभन्दा बढी अंक ल्याएर एसएलसी पास गरेकी अनिशा पढाइमा सधैं अब्बल थिइन्।

छोरीलाई डाक्टर बनाउने आमाबुवाको सपना थियो। प्लस टु मा उत्कृष्ट नतिजा ल्याएपछि उनले चीनको ‘सिचुवान विश्वविद्यालय’ मा एमबीबीएसको छात्रवृत्ति पाइन्। सन् २००३ देखि २००८ सम्म चीनमा बिताएर उनी डाक्टर बनेर फर्किइन्।

इन्टर्नसिपको समयमा हजुरबुवाको प्रोष्टेट क्यान्सरका कारण निधन भयो। ‘समयमै शल्यक्रिया भएको भए हजुरबुवा बाँच्नुहुन्थ्यो कि?’ यो प्रश्नले उनलाई घोचिरह्यो। यही पीडाले उनलाई मेडिसिन होइन, शल्यक्रिया गर्ने डाक्टर अर्थात सर्जन बन्ने प्रेरणा दियो।

‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो मेदान्तको अनुभव
एमबीबीएसपछि काठमाडौं मेडिकल कलेजमा काम गर्दा उनले देखिन्- धेरै महिलाहरू आफ्ना गोप्य अंगका समस्या पुरुष डाक्टरलाई देखाउन डराएर रोग लुकाएर बस्छन्। त्यसबेला महिला सर्जनको अभाव खड्किन्थ्यो। यसले उनलाई शल्यचिकित्सक बन्ने आँट दियो।

काठमाडौं मेडिकल कलेजबाट सन् २०१४ मा ‘जनरल सर्जरी’ मा एमएस गरेपछि उनलाई सामान्य शल्यक्रियामा मात्र सीमित हुन मन लागेन। उनलाई कलेजो प्रत्यारोपणजस्तो जटिल विधामा दक्षता हासिल गर्नु थियो।

सन् २०१५ मा उनी भारतको चर्चित मेदान्त अस्पताल पुगिन्। त्यहाँ ‘हेपाटोबिलियरी एन्ड लिभर ट्रान्सप्लान्ट सर्जरी’ मा दुई वर्षे फेलोसिप गरिन्। त्यही अस्पतालमा डेढ वर्ष काम गरिन्। यो समय उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो। त्यहाँ उनले कलेजो प्रत्यारोपणको सीप मात्र सिकिनन्, अनुसन्धानमा पनि आफूलाई अब्बल बनाइन्।

‘इन्टरनेश्नल लिभर ट्रान्सप्लान्ट सोसाइटी’ बाट ‘योङ इन्भेस्टिगेटर र ट्राभल अवार्ड’ बाट दुई पटक पुरस्कृत भइन्। सम्भवतः यो अन्तर्राष्ट्रिय पुरस्कार पाउने उनी पहिलो नेपाली सर्जन हुन्।

पाटन अस्पतालमा नयाँ अध्याय
भारतको अनुभव र ज्ञान बोकेर नेपाल फर्किएकी डा. अनिशाले भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा केही समय काम गरिन्। तर त्यहाँ उनलाई चित्तै बुझेन। अहिले उनी लोकसेवा आयोग पास गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत छिन्।

पाटन अस्पतालको ‘जीआई हेपाटोबिलियरी सर्जरी’ विभागमा उनी कलेजो, प्यान्क्रियाज, र पित्त नलीका जटिल शल्यक्रियाहरूमा व्यस्त छिन्। बिहानदेखि बेलुकासम्म, र कहिलेकाहीँ रातभरि पनि अप्रेसन थिएटरमा खट्नुपर्छ।

श्रीमान् पनि शल्यचिकित्सक नै भएकाले उनलाई पेशागत व्यस्तता बुझाउन सजिलो छ। यद्यपि, सानी छोरीलाई पर्याप्त समय दिन नपाउँदा कहिलेकाहीँ मन भारी हुन्छ। तर, बिरामीको निको भएको अनुहार र परिवारको साथले उनलाई सधैं अगाडि बढ्न प्रेरित गरिरहन्छ।

फागुन २, २०८२ शनिबार १३:२२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।