सुनसरीमा पेस्तोल लागुऔषधसहित भारतीय नागरिक नियन्त्रणमा

सुनसरीमा पेस्तोल लागुऔषधसहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं : सशस्त्र प्रहरी बलले सुनसरीको सीमा नाकाबाट पेस्तोल र लागुऔषधसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

सुनसरीको जमुवास्थित सीमा नाकाबाट शुक्रबार साँझ भारतको अररिया जिल्ला अररिया ग्रामपञ्चायत-४ बस्ने ३६ वर्षीय राम थेलन पासवानलाई हतियार र लागुऔषधसहित पक्राउ गरिएको हो।

सशस्त्र प्रहरी बलको निर्वाचन क्षेत्र सुरक्षा बेशले पासवानको साथबाट इटालीमा बनेको एक थान पेस्तोल र सोको ३ राउण्ड गोली, ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १०० ग्राम, भारतीय नम्बर प्लेटको मोटरसाइकल तथा नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३ सय ८० बरामद गरेको छ।

भारतीय मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानलाई शङ्का लागेर जाँच गर्दा उक्त हतियार र लागुऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका पासवानलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

निर्वाचनलाई लक्षित गरी सीमा नाकामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनिष थापाले निर्देशन दिएसँगै सुरक्षा जाँचमा तीव्रता दिइएको छ।

डिआइजी थापाले हालै इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका सीमा नाकाहरूको स्थलगत अनुगमन गर्दै सीमाबाट हुने अवैध क्रियाकलाप र आपराधिक गतिविधिमाथि निर्मम ढङ्गले प्रस्तुत हुन मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको थियो।

सोही सक्रियताका कारण हतियारसहित व्यक्ति पक्राउ गर्न सफलता मिलेको सशस्त्र प्रहरीका सह–प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो।

फागुन २, २०८२ शनिबार ११:३०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।