‘घायल हूँ, इसलिए घातक हूँ’ संवादका लागि सनी देओलले ‘धुरन्धर’बाट रोयल्टी नलिने
एजेन्सी : बलिउड अभिनेता सनी देओलले फिल्म ‘धुरन्धर’ मा प्रयोग गरिएको आफ्नो फिल्मको नाम समेटिएको संवादका लागि रोयल्टी माग्न अस्वीकार गरेका छन्।
फिल्म ‘धुरन्धर’ मा अभिनेता रणवीर सिंहको एउटा संवाद छ- ‘घायल हुँ, त्यसैले घातक छु’ (घायल हूँ, इसलिए घातक हूँ)। यो संवादले सनी देओलका पुराना चर्चित फिल्महरू ‘घायल’ र ‘घातक’ लाई सङ्केत गर्छ।
हालै एएनआईलाई दिएको एक अन्तर्वार्तामा सनी देओललाई ‘के तपाईं यस संवादका लागि रोयल्टी माग्नुहुन्छ?’ भनेर सोधिएको थियो। प्रश्न सुनेपछि उनले हाँस्दै रोयल्टी माग्ने आफ्नो कुनै सोच नभएको बताए।
सनी देओलका अनुसार फिल्मका निर्देशक आदित्य धर उनका ठुला फ्यान हुन् र सम्मान प्रकट गर्नका लागि मात्र यो संवाद प्रयोग गरिएको हो। उनले भने, ‘उनीहरूले मेरा फिल्मका टाइटलहरू प्रयोग गरे, यो निकै राम्रो कुरा हो।’
आदित्य धरको निर्देशनमा बनेको यो ‘स्पाइ थ्रिलर’ फिल्म ५ डिसेम्बर २०२५ मा रिलिज भएको थियो। फिल्मले बक्स अफिसमा विश्वभर १३ सय करोड भारुभन्दा बढीको ऐतिहासिक कलेक्सन गरिसकेको छ।
यतिबेला सनी देओल पनि आफ्नो नयाँ फिल्म ‘बर्डर २’ को सफलताको उत्सव मनाइरहेका छन्। फिल्मले विश्वभर ४६० करोड भारुभन्दा बढीको कमाइ गरिसकेको छ।
सन् १९९७ को सुपरहिट फिल्म ‘बर्डर’ को सिक्वेलका रूपमा आएको यस फिल्ममा सनी देओलसँगै वरुण धवन, दिलजित दोसान्झ र अहान शेट्टी मुख्य भूमिकामा छन्। फिल्मको निर्देशन अनुराग सिंहले गरेका हुन्।
फागुन २, २०८२ शनिबार १०:३६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।