मिसन पुस्तान्तरण-१९ : धनुषा-४ मा ‘पटके मन्त्री’ रघुबीर र पूर्वमन्त्री महेन्द्रलाई ३२ वर्षीय इन्जिनियर​​​​​​​को चुनौती

मिसन पुस्तान्तरण-१९ : धनुषा-४ मा ‘पटके मन्त्री’ रघुबीर र पूर्वमन्त्री महेन्द्रलाई ३२ वर्षीय इन्जिनियर​​​​​​​को चुनौती

काठमाडौं : ‘जेनजी आन्दोलन नभएको भए मैले अहिले नै चुनाव लड्न पाउने थिएन होला। यो आन्दोलनले राज्यको सम्पत्ति क्षति हुनु र कोही सहिद हुनु दुःखद पक्ष हो, तर यसले हामीजस्ता युवालाई नेतृत्वमा आउने अवसर र खुसी दिएको छ।’

यो भनाइ हो- सञ्जय कुमार महतोको। ३२ वर्षीय सिभिल इन्जिनियर सञ्जय आसन्न निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट ‘नेपाली कम्युनिष्ट पार्टी’का तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

देशव्यापी रूपमा चर्किएको जेनजी आन्दोलनको परिणामस्वरूप आगामी फागुन २१ गते निर्वाचन हुँदैछ। निर्वाचन आउन अब करिब १९ दिन मात्र बाँकी छ।

सरकार र राजनीतिक दलहरू चुनावी तयारीमा होमिएका छन्। चोकदेखि चिया पसलसम्म दलहरूको सिट सङ्ख्या र सम्भावित परिणामको जोडघटाउ सुरू भइसकेको छ।

आन्दोलनको मुख्य जग भ्रष्टाचारको अन्त्य र दलहरूमा पुस्तान्तरणको माग थियो। यसको दबाबस्वरूप नेपाली कांग्रेसमा केही हदसम्म पुस्तान्तरणको सङ्केत देखिए पनि एमाले र कम्युनिष्ट पार्टीको शीर्ष तहमा तात्विक परिवर्तन देखिएन।

यद्यपि, आन्दोलनकै बलमा केही दलहरूले युवा र जित्ने सम्भावना बोकेका नयाँ अनुहारलाई टिकट दिएका छन्। तिनै नयाँ अनुहारमध्येका एक हुन्- सञ्जय कुमार महतो।

धनुषा-४ मा सञ्जयको चुनावी यात्रा सहज भने छैन। यहाँको प्रतिस्पर्धा रोचक र पेचिलो बन्ने देखिन्छ।

सञ्जयका मुख्य प्रतिस्पर्धीका रूपमा एमालेका नेता एवं ‘पटके मन्त्री’ रघुबीर महासेठ छन्। महासेठले २०७४ सालदेखि यस क्षेत्रमा निरन्तर जित्दै आएका छन्।

अर्कोतर्फ, नेपाली कांग्रेसका निवर्तमान सह-महामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादव पनि यही क्षेत्रबाट मैदानमा छन्। मधेशको राजनीतिमा प्रभाव राख्ने यी दुई नेताहरूबीच ३२ वर्षीय सञ्जयले आफूलाई विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन्।

को हुन् सञ्जय?
धनुषामै विद्यालय शिक्षा पूरा गरेर उच्च शिक्षाका लागि काठमाडौं छिरेका सञ्जय पेसाले सिभिल इन्जिनियर हुन्। उनले २०६९ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको थापाथली क्याम्पसबाट इन्जिनियरिङमा स्नातक गरेका छन्।

काठमाडौं आएलगत्तै उनी तत्कालीन माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीमा आबद्ध भए। सुरुवाती चरणमा क्लास कमिटीबाट राजनीति सुरू गरेका उनले रञ्जित तामाङ अध्यक्ष हुँदा बागमती प्रदेश कमिटी मार्फत केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले। पछि पञ्चा सिंह अध्यक्ष हुँदा उनले सचिवालय सचिवको रूपमा काम गरे।

‘म विद्यार्थी राजनीतिबाटै आएको हुँ,’ सञ्जय भन्छन्, ‘पछिल्लो समय प्रदेश कमिटीमा रहेर काम गरिरहेको थिएँ। जेन-जी आन्दोलन अगाडि नै प्रचण्डले तपाईं विद्यार्थी राजनीतिबाट थोरैले हार्नुभयो, अब प्रतिनिधिसभाको तयारी गर्नुस् भन्नुभएको थियो। आन्दोलनले चुनावको वातावरण बनाइदिएपछि जिल्लाका नेताहरूले पनि ल, यसपटक इन्जिनियर सञ्जयलाई हेरौँ भन्दै अघि सार्नुभयो।’

सञ्जयको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै हो। उनका बुवा २०५४ सालमा जनमोर्चाबाट वडा अध्यक्ष निर्वाचित भएका थिए। पार्टी एकीकरणपछि पनि बुवा राजनीतिमै सक्रिय थिए। तर, पारिवारिक आर्थिक जिम्मेवारीले गर्दा बुवाले राजनीतिलाई निरन्तरता दिन सकेनन्।

‘तीन दिदीहरूको विवाह र मधेसको सामाजिक संरचनामा लाग्ने खर्चको जोहो गर्नुपर्ने हुँदा बुवाले बाध्य भएर राजनीति छाड्नुपर्यो’, सञ्जय सुनाउँछन्।

पेशा र राजनीति सँगसँगै
२०७३ सालमा इन्जिनियरिङ सकेपछि सञ्जयले आफ्नो पेसालाई पनि निरन्तरता दिए। विगत १० वर्षदेखि उनी निर्माण व्यवसाय र डिजाइनको क्षेत्रमा सक्रिय छन्।

‘मैले स्थानीय तह, शहरी विकास विभाग, सिंचाइ तथा सडक विभागका धेरै काम गरेको छु। करिब २०० भन्दा बढी स्थानीय तहका संरचनाहरूको डिजाइन र डीपीआरको काम गरेको अनुभव मसँग छ’, उनी भन्छन्। हाल उनी धनुषामै बसेर राजनीति र आफ्नो पेसालाई सँगै अगाडि बढाइरहेका छन्।

मधेशको राजनीतिमा विचार र सिद्धान्तका अलावा आर्थिक प्रभावले पनि ठूलो अर्थ राख्ने गरेको पाइन्छ। सञ्जयका प्रतिस्पर्धीहरू रघुबीर महासेठ र महेन्द्र यादव राजनीतिक र आर्थिक दुवै रूपमा सम्पन्न मानिन्छन्। तर, सञ्जय भने जेन-जी आन्दोलनले सिर्जना गरेको जनलहरलाई नै आफ्नो जितको मुख्य आधार मान्छन्।

रोचक कुरा के छ भने, सञ्जयले विगतमा यिनै प्रतिस्पर्धीहरूका लागि भोट मागेका थिए। तत्कालीन नेकपा हुँदा महासेठका लागि र २०७९ को निर्वाचनमा गठबन्धनका कारण कांग्रेसका महेन्द्र यादवका लागि उनले प्रचारप्रसार गरेका थिए।

‘हिजो पार्टीको निर्णय मानेर उहाँहरूलाई भोट माग्न गइयो। तर, पटक-पटक अवसर पाउँदा पनि उहाँहरूले जनताको पक्षमा देखिने काम गर्नुभएन,’ सञ्जय दाबी गर्छन्, ‘अब मतदाताले विकल्प खोज्नुभएको छ। म युवा हुँ, सक्षम छु र मधेसको विकासको स्पष्ट खाका मसँग छ।’

सञ्जयले स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन र कृषिको आधुनिकीकरणलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। साथै, संसद्मा पुगेर जनपक्षीय कानुन निर्माणमा खबरदारी गर्ने उनको प्रतिबद्धता छ।

०००

भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।

हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार–प्रसार सुरु भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।

जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरु गरेको हो।

मिसन पुस्तान्तरणको यसअघिका सामग्री:

फागुन २, २०८२ शनिबार ०८:०८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।