बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा 'फुड कलर' प्रयोग भएको फेला

बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा 'फुड कलर' प्रयोग भएको फेला

बुटवल : सामुदायिक विद्यालयमा अब्बल मानिएको बुटवलको कालिका मानवज्ञान विद्यालयको क्यान्टिनमा फुड कलर प्रयोग हुने गरेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको अनुगमनको क्रममा क्यान्टिनको खानामा फुड कलर प्रयोग गरेको पाइएको हो।

बुटवलको कालिका मानवज्ञानसहित नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय, लुम्बिनी वाणिज्य क्याम्पसमा पनि अनुगमन गरिएको थियो। खाद्य अनुसन्धान अधिकृत जोत्स्ना शर्मा अधिकारीका अनुसार अनुगमन टोलीले तीन वटै शिक्षण संस्थाको क्यान्टिनमा खानामा फुड कलर प्रयोग गरिएको पाइयो।

ती संस्थालाई सरसफाइमा विशेष ध्यान दिन तथा खाद्य सामग्री सुरक्षित तरिकाले प्रयोग गर्न निर्देशन दिइएको उनले जानकारी दिइन। यसैगरी टोलीले लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाका क्यान्टिन पनि अनुगमन गरेको थियो। 

अस्पताल क्यान्टिनमा सरसफाइ सुधार गर्न निर्देशन दिइनुका साथै आम्दा अस्पतालको क्यान्टिन सानो भएकाले विस्तार गर्न टोलीले सुझाव दिएको छ। अनुगमनमा सहभागी मानव अधिकार तथा उपभोक्ता मञ्चका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले पकाइसकेपछि मात्र प्रयोग गर्न मिल्ने खाद्य रङ पहिले नै प्रयोग गर्दा क्यान्सरको जोखिम बढ्ने भएकाले त्यस्ता पदार्थ प्रयोग नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको बताए।

टोलीमा माइक्रोबायोलोजिस्ट प्रतिभा सुवेदी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षक कार्यालय रुपन्देहीका प्रतिनिधि सौगात ज्ञवाली, पत्रकार लगायतको सहभागिता रहेको थियो। अनुगमन भैरहवास्थित कार्यालयको नेतृत्वमा गरिएको हो। कार्यालयले आगामी दिनमा पनि रुपन्देही जिल्लाभर नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

फागुन १, २०८२ शुक्रबार १८:५३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।