रुकुम पश्चिमका राप्रपा नेता खत्री कांग्रेसमा प्रवेश
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कालीबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा राप्रपाको तर्फबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रमुखको उम्मेदवार बनेका ७४ वर्षीय खत्री निर्वाचनकै मुखमा पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरे।
चौरजहारी नगरपालिका- ७ नार्जी खत्रीगाउँमा सञ्चालित घरदैलो तथा मतदाता भेटघाट अभियानका क्रममा उनलाई कांग्रेसका उम्मेदवार तथा नेताहरूले पार्टीमा स्वागत गरेका थिए। खत्रीलाई नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजु केसी र पूर्व राज्यमन्त्री एवं नेता गोपालजीजंग शाहले टीका तथा खादा लगाएर पार्टीको सदस्यता प्रदान गरे।
पार्टी प्रवेशको क्रममा खत्रीले मुलुकको लोकतन्त्र सुदृढीकरण, विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेसलाई नै सक्षम शक्तिका रूपमा चित्रण गरे। उनले अबका दिनमा कांग्रेसको सिद्धान्त र नेतृत्वलाई आत्मसात् गर्दै पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता समेत जनाए।
कांग्रेस चौरजहारी- ७ का वडा सभापति खेमप्रकाश शर्माले खत्रीको आगमनले स्थानीय स्तरमा पार्टीको सांगठनिक संरचनालाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
फागुन १, २०८२ शुक्रबार १६:२८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।