आजपाको चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि भ्रष्टाचारविरुद्ध ‘आईटी आर्मी’ सम्मका अजेण्डा

आजपाको चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि भ्रष्टाचारविरुद्ध ‘आईटी आर्मी’ सम्मका अजेण्डा

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आम जनता पार्टी (आजपा)ले आफ्नो महत्त्वाकांक्षी ‘घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ।

मुलुकको वर्तमान राजनीतिक अस्थिरता, गहिरिँदो आर्थिक संकट र दलतन्त्रको असफलतालाई मुख्य मुद्दा बनाउँदै पार्टीले ‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित व्यापक संरचनात्मक सुधारको प्रस्ताव अघि सारेको छ।

घोषणापत्रमा देश अस्थिर राजनीतिक संक्रमणबाट गुज्रिरहेको उल्लेख गर्दै दुई-तिहाइको सरकारको बर्खास्ती, संसद् विघटन र ‘जेनजी आन्दोलन’ पछि निर्धारित समयभन्दा अगाडि निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको दाबी गरिएको छ।

हाल सुशीला कार्की नेतृत्वको चुनावी सरकार रहेको सन्दर्भमा आजपाले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेको छ।

साथै, ‘नो भोट’, ‘राइट टु रिकल’ र ७० वर्ष नाघेका व्यक्तिलाई कार्यकारी पदमा रोक लगाउने जस्ता प्रगतिशील प्रावधानहरू पनि समेटिएको छ। गैरआवासीय र विदेशीलाई नागरिकता दिने प्रावधान खारेज गर्नुपर्ने र कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्थाको माग पनि आजपाले गरेको छ।

मुलुकको सार्वजनिक ऋण २८ खर्ब पुगेको र प्रतिव्यक्ति ऋणभार ९६ हजार नाघेको तथ्याङ्क प्रस्तुत गर्दै आजपाले वित्तीय अराजकता चरम अवस्थामा पुगेको औंल्याएको छ।

सम्पत्ति शुद्धीकरणमा भएको कमजोरीका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको र यसले वैदेशिक लगानीमा असर पारेको भन्दै पार्टीले ‘तीनखम्बे अर्थनीति’ लाई सुदृढ गर्ने, कालो धन फिर्ता ल्याउने र भ्रष्टाचारविरुद्ध ‘आईटी आर्मी’ परिचालन गर्ने नीति लिएको छ।

कृषि सुधारका लागि बाँझो तथा टुक्रा जमिन एकीकृत गरी ‘भूमि बैंक’ अवधारणा लागू गर्ने, हरेक वडामा शीतभण्डार स्थापना गर्ने र स्वदेशी उत्पादनलाई सस्तो बनाउने नीति अघि सारिएको छ।

‘हर हातमा हुनर र युवालाई रोजगार’ को लक्ष्यसहित ‘एक घर, एक रोजगारी’ कार्यक्रम ल्याउने घोषणा गरिएको छ। रोजगारी नपाउन्जेल बेरोजगारी भत्ता दिने, नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने र युवा उद्यमीलाई १० देखि २५ लाख रुपैयाँसम्म बिनाधितो ‘सीड मनी’ उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

शिक्षातर्फ पूर्ण साक्षर राष्ट्र, स्मार्ट क्लासरुम र ‘एक स्थानीय तह, एक खेलग्राम’ कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र हरेक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना अघि सारिएको छ। महिला सशक्तीकरणका लागि मौलापुर मोडेलमा विशेष अभियान चलाइने जनाइएको छ।

पूर्वाधारतर्फ मुख्य राजमार्ग विस्तार, डिजिटल करिडोर विकास, भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ र पिउने पानी उद्योग ‘हिमालयन ओरिजिन’ विकास गरी ‘वाटर ट्रेडिङ’ गर्ने जस्ता नवीन योजनाहरू समावेश छन्।

मतदातालाई आकर्षित गर्न आजपाले ‘युवालाई काम, बुढा नेतालाई आराम’, ‘खल्तीमा मोबाइल, मोबाइलमै रासन, भ्रष्टाचारमुक्त हुने छ अबको शासन’ र ‘सिस्टम सुधार, स्थिर सरकार, आजपा नै हो समृद्धिको आधार’ जस्ता नाराहरू तय गरेको छ।

फागुन १, २०८२ शुक्रबार १३:१७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।