कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका देशभरमै सर्वोत्कृष्ट, उपमहानगरमा बुटवल पहिलो
बुटवल : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका देशभरकै स्थानीय तहहरूमध्ये सर्वोत्कृष्ट बनेको छ।
आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार पाणिनी गाउँपालिकाले कुल ८३.८४ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
यसैगरी, गुल्मीका स्थानीय तहहरूले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। ८१.९८ अंकसहित गुल्मीको मालिका गाउँपालिका तेस्रो र ८०.५२ अंकसहित धुर्कोट गाउँपालिका चौथो स्थानमा पर्न सफल भएका छन्।
उपमहानगरमा बुटवल अगाडि
उपमहानगरपालिकाहरूको कार्यसम्पादनमा बुटवल उपमहानगरपालिकाले अग्रता कायम गरेको छ। बुटवलले ६४.४४ अंक प्राप्त गर्दै पहिलो स्थान बनाएको हो।
लुम्बिनी प्रदेशका अन्य उपमहानगरपालिकाहरूको नतिजा हेर्दा दाङको तुलसीपुरले ६१.५३ र घोराहीले ६१.०८ अंक प्राप्त गरेका छन् भने बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ५६.४५ अंक प्राप्त गरेको छ।
नगरपालिकाहतर्फ गुल्मीको रेसुंगा नगरपालिका लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। समग्रमा ८०.८२ प्रतिशत अंक ल्याउँदै रेसुंगा नगरपालिका देशैभरका नगरपालिकाहरुमध्ये पाँचौँ स्थानमा पर्न सफल भएको छ।
प्रदेश सरकारहरूको कार्यसम्पादन मूल्यांकनमा भने लुम्बिनी प्रदेश पछाडि परेको छ। ३४.७१ अंक प्राप्त गर्दै लुम्बिनी पाँचौँ स्थानमा रहेको छ भने ४५.७० अंकसहित सुदूरपश्चिम प्रदेश पहिलो नम्बरमा रहन सफल भएको छ।
मूल्यांकनका आधारहरू
आयोगले स्थानीय तहहरूलाई कुल १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको थियो। यसमा समयमै बजेट पेस र पारित गरे/नगरेको, राजस्व बाँडफाँटको विवरण, आगामी आवको आय-व्ययको प्रक्षेपण, राजस्व परिचालन, र बजेट खर्चको अवस्था लगायतका विषय समेटिएका छन्।
त्यस्तै, बेरुजु फर्स्योट, सूत्र सफ्टवेयरको प्रयोग, विद्यालयमा विद्यार्थी भर्ना र टिकाउ दर, स्वास्थ्य संस्थामा गर्भ जाँच गर्ने महिलाको अनुपात, पूर्ण खोप र एसईई नतिजा जस्ता सूचकहरूलाई पनि मूल्यांकनको आधार मानिएको छ।
आयोगले सार्वजनिक गरेको नतिजामा चित्त नबुझे सम्बन्धित स्थानीय तहले आधार र प्रमाणसहित ७ दिनभित्र पुनरावलोकनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। लुम्बिनी प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कुल १०९ स्थानीय तह रहेका छन्।
फागुन १, २०८२ शुक्रबार ०८:५०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।