दुई दशकपछि बंगलादेशको सत्तामा फर्कँदै बीएनपी, विद्यार्थी आन्दोलनपछि खुलेको पार्टीको अवस्था कस्तो?
एजेन्सी : बंगलादेशमा सम्पन्न १३औं राष्ट्रिय निर्वाचनमा बंगलादेश नेसनल पार्टी (बीएनपी) ऐतिहासिक र ठूलो जिततर्फ अघि बढेको छ।
लामो समयपछि देशका लाखौं मतदाताले शान्तिपूर्ण र उत्साहजनक वातावरणमा आफ्नो मताधिकार प्रयोग गरेका छन्।
अनौपचारिक नतिजा र पार्टीको आफ्नै तथ्याङ्कअनुसार, शुक्रबार बिहान ३:३० बजेसम्म बीएनपी र यसका सहयोगी दलहरू १७० भन्दा बढी निर्वाचन क्षेत्रमा अगाडि रहेका छन्।
करिब दुई दशकदेखि सत्ता बाहिर रहेको बीएनपीले दुई तिहाइभन्दा बढी बहुमत ल्याएर सरकार बनाउनेछ। बीएनपी अन्तिम पटक सन् २००१ देखि २००६ सम्म सत्तामा थियो। त्यसबेला बेगम खालिदा जिया प्रधानमन्त्री थिइन्।
बीएनपीको एक समयको नजिकको साझेदार जमात-ए- इस्लामी र यसका सहयोगीहरूले पनि राम्रो नतिजा ल्याउँदै ६० सिटमा जित दाबी गरेका छन्।
त्यस्तै, विद्यार्थी आन्दोलनबाट उदाएको ‘नेसनल सिटिजन पार्टी’ (एनसीपी)ले ६ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको सो पार्टीका अधिकारीहरूले बताएका छन्।
प्रमुख नेताहरूको जित
अनौपचारिक नतिजाअनुसार बीएनपीका अध्यक्ष तारिक रहमान र महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले आ-आफ्नो निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन्।
१७ वर्षको निर्वासनपछि बेलायतबाट फर्किएका तारिक रहमानले ढाका-१७ र बोगुरा-६ दुवै क्षेत्रबाट चुनाव जितेका छन्।
विद्यार्थी नेतृत्वको आन्दोलनले अवामी लिग सरकार ढलाएको १८ महिनापछि यो निर्वाचन भएको हो। आन्दोलनका क्रममा भएको दमनमा १४ सयभन्दा बढीको मृत्यु भएको आरोपमा अवामी लिगलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।
विगतका चुनावमा हुने हिंसा, आगजनी र धाँधलीको तुलनामा यसपटकको मतदान निकै शान्तिपूर्ण रह्यो।
केही छिटपुट घटना बाहेक देशभर मतदान उत्साहजनक रूपमा सम्पन्न भयो। महिला र पहिलो पटक मतदान गर्ने युवा मतदाताहरूको उपस्थिति बाक्लो थियो।
संवैधानिक सुधारका लागि जनमत संग्रह
यसपटक सांसद छान्नका लागि मात्र नभई संवैधानिक सुधारका लागि पनि मतदान (जनमत संग्रह) गरिएको थियो। देशको इतिहासमै पहिलो पटक यी दुई प्रक्रिया एकैसाथ सम्पन्न भएका हुन्।
बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले मतदानपछि प्रतिक्रिया दिँदै यस दिनलाई ‘नयाँ बंगलादेशको जन्मदिन’ र राष्ट्रिय खुसीको क्षण बताएका छन्।
सेना प्रमुख जनरल वाकर-उज-जमानले पनि विगत डेढ वर्षदेखि निष्पक्ष चुनावको प्रतीक्षा गरिरहेको बताउँदै मतदान शान्तिपूर्ण भएकोमा सन्तोष व्यक्त गरे।
निर्वाचन आयोगले आधिकारिक नतिजा घोषणा गर्न बाँकी रहे पनि अनौपचारिक नतिजाहरूले बीएनपीको स्पष्ट बहुमतको संकेत गरेका छन्।
निर्वाचन प्रणाली
बंगलादेशको संसदमा कुल ३५० सिट छन्। जसमा जनताले सिधै भोट हालेर चुन्ने निर्वाचन क्षेत्र ३०० वटा हुन्।
बुधबार भएको मतदान २९९ निर्वाचन क्षेत्रमा मात्र भएको थियो। सेरपुर-३ निर्वाचन क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएको कारण त्यहाँको मतदान स्थगित गरिएको थियो।
बाँकी ५० सिट महिलाहरूका लागि आरक्षित हुन्छन्, जुन निर्वाचित ३०० सदस्यहरूले समानुपातिक आधारमा चयन गर्छन्।
फागुन १, २०८२ शुक्रबार ०७:४६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।