विश्वप्रकाशले औँल्याए वितृष्णा चिर्न दलहरूमा आत्मसुधारको खाँचो
भैरहवा : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकको जीवनस्तर सुधार्न सत्ता केन्द्रित सोचभन्दा माथि उठ्नु पर्ने बताएका छन्। भैरहवामा बिहीबार आयोजित एक कार्यक्रममा उनले नागरिकको जीविकोपार्जनमा सुधार ल्याउने संकल्पका साथ कांग्रेस अघि बढिरहेको बताए।
राजनीतिप्रतिको बढ्दो वितृष्णालाई आशामा बदल्न दलहरू आत्मसुधारमा लाग्नुपर्ने उनको जोड छ। कांग्रेसले त्यसको सुरुआत गरिसकेको उनको भनाई छ। मुलुकको राजनीतिक अवस्थालाई सुधार गर्दै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने उनले बताए।
शर्माले अब सुशासन र विकासको नेतृत्व गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताए। “तरल राजनीतिक परिस्थितिमा संयमित भएर जनताका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ। सत्ता केन्द्रित सोचभन्दा माथि उठेर नागरिकको जीवनस्तर सुधारतर्फ ध्यान दिन जरुरी छ। यसका लागि कांग्रेसले सङ्कल्प गरिसकेको छ,” उनले भने।
पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिँदै शर्माले गुटबन्दी त्यागेर टोलस्तरसम्म पुगेर जनताको गुनासा सुन्न र समाधानको प्रतिज्ञा गर्न आग्रह गरे। उनले मुलुकको आर्थिक सङ्कट र युवा पुस्तामा देखिएको नैराश्यताप्रति चिन्ता व्यक्त गर्दै नीतिगत सुधारको आवश्यकता औँल्याए।
माघ २९, २०८२ बिहीबार २१:३२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।