टी-२० विश्वकप: इटालीलाई नेपालले दियो १२४ रनको लक्ष्य
काठमाडौं : आइसिसी पुरुष टी- २० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई जितका लागि १२४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रन बनाउँदै अलआउट भयो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रनको योगदान दिए। उनले २४ बल खेल्दै ३ चौका प्रहार गरे। यस्तै, कप्तान रोहित पौडेलले १४ बलमा २ चौकासहित २३ रन जोड्दा ओपनर आसिफ शेखले २० बलमा २० रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले १८ बलमा १७ रन जोडे भने करण केसी १८ रनमा अविजित रहे।
दोस्रो ओभरमा ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए पनि रोहित र आसिफले पारि सम्हाल्दै पावरप्लेमा नेपालको स्कोर ४६ रन पुर्याएका थिए। तर, सातौं ओभरमा रोहित र आठौं ओभरमा आसिफ आउट भएपछि नेपाल दबाबमा परेको थियो।
तल्लो क्रमका ब्याटरहरू लोकेश बम ३ रन, गुल्सन झा ३ रन, सन्दीप लामिछाने ५ रन र ललित राजवंशी शून्यमै आउट भए। नन्दन यादव पनि रनआउटको भए। इटालीका बलरहरूले कसिलो बलिङ गर्दै नेपाली ब्याटरलाई दबाबमा राखे।
माघ २९, २०८२ बिहीबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।