दैलेखमा पूर्वानुमानभन्दा बढी ग्यास भण्डारण रहेको पुष्टि, उत्खनन चुनौतीपूर्ण

दैलेखमा पूर्वानुमानभन्दा बढी ग्यास भण्डारण रहेको पुष्टि, उत्खनन चुनौतीपूर्ण

दैलेख : दैलेखको भैरवी गाउँपालिका- १ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यासको भण्डारण रहेको तथ्य पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्वे’ले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनले जलजले क्षेत्रमा ठूलो परिमाणमा खनिज ग्यासको मौज्दात रहेको देखायो।

खानी तथा भूगर्भ विभागका अनुसार, यो परिमाण यसअघि गरिएको प्रारम्भिक अनुमानभन्दा निकै बढी हो। सुरुवाती अध्ययनले सो क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर मात्र ग्यास हुनसक्ने अनुमान थियो। विभागका प्रवक्ता धर्मराज खड्काले विस्तृत अन्वेषण र प्राविधिक परीक्षणपछि ग्यासको भण्डारण निकै ठूलो परिमाणमा रहेको प्रमाणित भएको जानकारी दिए।

भण्डारण पुष्टि भए पनि यसको व्यावसायिक उत्पादन र उत्खनन क्षमताको वास्तविक जानकारी भने ‘वेल टेस्टिङ’पछि मात्र प्राप्त हुने विभागले जनाएको छ। प्रवक्ता खड्काले भने, “अहिले हामीले भण्डारणको आकार मात्र पत्ता लगाएका हौं। वेल टेस्टिङ नगरी कति ग्यास बाहिर निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्नेबारे परीक्षण नगरेसम्म अन्तिम टुङ्गो लाग्दैन।”

उनका अनुसार अबको चरणमा ‘ड्रिल’ गरिएको स्थानमा अन्य उपकरण प्रयोग गरी चट्टान फुटाउने वा प्राकृतिक ग्यासलाई विस्थापित गर्ने प्रक्रिया अपनाइनेछ। त्यसपछि निस्कने ग्यासमा भएका तत्त्वको प्रयोगशाला परीक्षण गरिनेछ र मात्र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।

नेपाल सरकार र चीनको जियोलोजिकल सर्वेबीच दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो। सोहीअनुसार चिनियाँ टोलीले: सेस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोटेल्युरिक सर्वे र जियोकेमिकल सर्वे सम्पन्न गरिसकेको विभागका प्रवक्ता खड्काले जानकारी दिए।

उनका अनुसार हाल प्राप्त अन्तिम प्रतिवेदन माथि विभागले थप अध्ययन गरिरहेको छ भने बाँकी कामका लागि अनुदान सहयोग गरिदिन नेपाल सरकारले चीन सरकारलाई आग्रह गरेको छ। विज्ञहरूका अनुसार दैलेखमा फेला परेको ग्यास अमेरिकामा उत्खनन गरिने ‘शेल वा टाइट ग्यास’ प्रकृतिको छ। यस्तो ग्यास चट्टानका पत्रमा च्यापिएर रहने भएकाले यसलाई निकाल्न निकै कठिन हुन्छ।

व्यावसायिक प्रयोजनका लागि निकाल्न चट्टान फोडेर ग्यास निकाल्नुपर्ने चुनौती छ। दैलेखमा परापूर्वकालदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रलाई आधार मानेर २०७६ असोजदेखि अन्वेषण सुरु गरिएको थियो। फागुन २१ हुन लागेको निर्वाचनमा पनि दैलेखका राजनीतिक दलले यो ग्यास उत्खननलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन्।

माघ २९, २०८२ बिहीबार १६:२१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।