नेप्सेमा सुधार : सूचकसँगै कारोबार रकम पनि बढ्यो
काठमाडौं : साताको सुरुदेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको अन्तिम कारोबार दिन बिहीबार सुधार आएको छ। बिहीबार नेप्से ८.९७ अङ्कले बढेर २६७१.०७ विन्दुमा कायम भयो।
बजार सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भयो। नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा निर्देशिका जारी गरेसँगै लगानीकर्ताको मनोबलमा देखिएको सुधारले कारोबार रकम ११ अर्ब १० करोड २५ लाख रुपैयाँ नाघेको छ। बुधबार ८ अर्ब ६९ करोड रुपैयाँको सेयर खरिद-बिक्री भएको थियो।
यस दिन ३३७ कम्पनीका २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर १ लाख ६ हजार पटकको कारोबारबाट खरिद-बिक्री भएका छन्। जसमध्ये १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
नेप्सेका १३ उपसमूहमध्ये ८ वटा समूहको सूचक बढे भने ५ वटा समूहको घट्यो। विकास बैंक समूहको सूचक सर्वाधिक १.१८ प्रतिशत (६६.८० अङ्क) ले बढ्यो। यस्तै जलविद्युत् ३४.६५, बैंकिङ ४.७५, जीवन बिमा ६३.२२ र उत्पादनमूलक समूहको सूचक ५५.०४ अङ्कले उकालो लाग्यो।
घटेका उपसमूहमध्ये होटल तथा पर्यटन समूहमा सर्वाधिक १.६५ प्रतिशतले घट्यो। लघुवित्त, निर्जीवन बिमा, अन्य र व्यापार समूहको सूचकमा पनि सामान्य गिरावट आयो।
बिहीबार दुई जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किटको अवस्था रह्यो। मध्यभोटेकोशी जलविद्युतको मूल्य ९.९९ प्रतिशत र रसुवागढी हाइड्रोपावरको मूल्य ९.८८ प्रतिशतले बढेको छ। यस्तै खानीखोला हाइड्रोपावरको मूल्य ७.०२ प्रतिशत र श्रीनगर एग्रोटेकको मूल्य ६.२९ प्रतिशतले वृद्धि भयो।
सर्वाधिक गुमाउनेमा कालिञ्चोक दर्शनका लगानीकर्ता रहेका छन्, जसको सेयर मूल्य ७.५९ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा बिहीबार ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रह्यो। यस कम्पनीको ७० करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस्तै, एसवाई प्यानलको ४३ करोड ४२ लाख र रिडी पावर कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यसअघि आइतबार १०.२४, सोमबार २६.०५, मंगलबार १०.२५ र बुधबार ०.०४ अङ्कले नेप्से घटेको थियो। बिहीबारको सुधारले साताको अन्त्य सकारात्मक बनेको छ।
माघ २९, २०८२ बिहीबार १५:५३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।