विश्वकप क्रिकेट : ‘मानसिक स्वास्थ्य’का कारण टोलीबाट हटाइएका जोहाइबको स्थानमा हैदर भित्रिए
एजेन्सी : सन् २०२६ को टी-२० विश्वकपका लागि संयुक्त अरब इमिरेट्स (युएई)को टोलीमा विकेटकिपर-ब्याटर हैदर शाहलाई समावेश गरिएको छ। उनलाई मोहम्मद जोहाइबको स्थानमा टोलीमा राखिएको हो।
मोहम्मद जोहाइबलाई मंगलबार न्यूजिल्याण्ड विरुद्धको खेलअघि नै चेन्नईबाट घर फिर्ता पठाइएको थियो। इमिरेट्स क्रिकेट बोर्डले उनलाई ‘अनुशासनात्मक कारण’ले टोलीबाट हटाइएको बताएको छ।
यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले भने खेलाडीको ‘मानसिक स्वास्थ्य र टोलीको हित’लाई ध्यानमा राख्दै उनलाई टोलीबाट फिर्ता बोलाइएको जानकारी दिएको छ।
२४ वर्षीय हैदर शाहले अहिलेसम्म १८ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनको ब्याटिङ औसत १९.२५ र स्ट्राइक रेट ११६.६६ रहेको छ।
जोहाइब टोलीमा नहुँदा चेन्नईमा भएको पहिलो खेलमा युएई न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो।
युएईले पहिले ब्याटिङ गर्दै १७३ रन बनाएको थियो, तर न्यूजिल्याण्डका टिम साइफर्ट र फिन एलेनले कुनै विकेट नगुमाई १५.२ ओभरमै उक्त लक्ष्य सजिलै पूरा गरेका थिए।
माघ २९, २०८२ बिहीबार १३:४०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।