इङ्ल्यान्डविरुद्धको अन्तिम ओभरमा स्कुप वा स्विप ट्राई गर्नुपर्ने थियो : लोकेश बम
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान लोकेश बमले इङ्ल्यान्डविरुद्धको खेलको अन्तिम ओभरमा आफूले केही फरक सटहरू प्रहार गर्नुपर्ने थियो भन्ने लागिरहेको बताएका छन्।
नेपाल क्रिकेट संघले जारी गरेको भिडियोमा उनले आफ्नो अनुभव बताउँदै तीन दिन बितिसक्दा पनि सो अन्तिम ओभरको दृश्य आफ्नो दिमागबाट नहटेको बताएका छन्।
अन्तिम ओभरमा १० रन आवश्यक भएको बेला आफूले एउटा ठूलो हिट हानेर खेल नेपालको पक्षमा ल्याउने योजना बनाएको बताए।
लोकेश भन्छन्, ‘मलाई लाग्छ मैले केही फरक प्रयास गर्नुपर्ने थियो। मैले स्कुप वा स्विप सट ट्राई गर्नुपर्ने थियो भन्ने कुरा अझै पनि मेरो दिमागमा आइरहेको छ। स्याम करन एक अनुभवी खेलाडी भएकोले उनले अन्तिम समयमा आफ्नो प्लान राम्ररी प्रयोग गर्यो।’
८ बलमा १० रन चाहिने अवस्थामा स्थिति देख्दा डगआउटमा रहेका खेलाडीहरूले खेल जितिसक्यौँ भन्ने महसुस गरेको डगआउटमा रहेका शेर मल्लले बताए।
यो हारका बावजुद लोकेश बम निराश छैनन्। उनले यसलाई ठूलो सिकाइको रूपमा लिएका छन्। उनले भनेका छन्, ‘भविष्यमा यस्तै सिचुएसन आयो भने म त्यसका लागि तयार हुनेछु।’
इङ्ल्यान्ड जस्तो बलियो टोलीलाई कडा चुनौती दिनुले नेपाली खेलाडीहरूमा अब हामी जुनसुकै टिमलाई पनि हराउन सक्छौँ भन्ने ‘स्ट्रङ बिलिफ’ र आत्मविश्वास बढेको उनको भनाइ छ।
माघ २९, २०८२ बिहीबार १०:३८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।