दक्षिण अफ्रिकासँग दोस्रो सुपर ओभरमा पराजित भएपछि गुरबाज- ‘हामी सिक्नेछौँ र फेरि बलियो बन्नेछौँ’
काठमाडौं : आईसीसी पुरुष टिट्वेन्टी विश्वकप २०२६ अन्तर्गत दक्षिण अफ्रिकासँगको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा पराजित भएपछि अफगानिस्तानका प्रारम्भिक ब्याटर रहमानुल्लाह गुरबाजले भावुक सन्देश दिएका छन्।
दुई पटकसम्म सुपर ओभर हुँदा पनि पराजित हुनु परेपछि उनले यस हारबाट पाठ सिक्दै भविष्यमा अझ बलियो भएर मैदान उत्रने प्रतिबद्धता जनाएका हुन्।
बुधबार भएको खेल निर्धारित ओभरमा बराबरीमा सकिएपछि नतिजाका लागि सुपर ओभरको सहारा लिइएको थियो। तर, पहिलो सुपर ओभर पनि बराबरीमै टुङ्गिएपछि खेल दोस्रो सुपर ओभरमा प्रवेश गरेको थियो।
क्रिकेट इतिहासमै विरलै हुने यस्तो डबल सुपर ओभरमा दक्षिण अफ्रिकाले बाजी मार्दा अफगानिस्तान स्तब्ध हुन पुग्यो। जितको नजिक पुगेर पनि पराजित हुनुपर्दा अफगान खेलाडीहरू मैदानमै भावविह्वल देखिएका थिए।
खेलपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा मैदानमा निराश मुद्रामा रहेको आफ्नो तस्बिरसहित गुरबाजले लेखे, ‘हरेक खेलले हामीलाई केही न केही सिकाउँछ। आज हामीले आफ्नो तर्फबाट अन्तिम क्षणसम्म सबै थोक दियौँ र लड्यौँ, तर आज हाम्रो दिन थिएन। तैपनि, तपाईँहरूको माया र समर्थन हाम्रो लागि शब्दमा व्यक्त गर्न नसकिने छ।’
उनले थप अगाडि लेखेका छन्, ‘हाम्रो हरेक उतारचढावमा साथ दिनुहुने सबैप्रति हामी आभारी छौँ। हामी सिक्नेछौँ, सुधार गर्नेछौँ र पहिलेभन्दा अझ बलियो भएर फर्कनेछौँ। सधैँ सँगै!’
गुरबाजको यो पोस्टमा हजारौं समर्थकहरूले सहानुभूति र हौसला प्रदान गरेका छन्। विशेष गरी भारतीय र अफगान क्रिकेट प्रेमीहरूले उनीहरूको जुझारुपनको प्रशंसा गर्दै आगामी खेलका लागि शुभकामना दिएका छन्।
अफगानिस्तानले पछिल्लो समय विश्व क्रिकेटमा ठूला टोलीहरूलाई कडा टक्कर दिँदै जायन्ट किलरको छवि बनाएको छ।
माघ २९, २०८२ बिहीबार ०९:०६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।