प्रचण्डले भने 'चुनावमा समीकरण नबने पनि कांग्रेस-एमालेसँग सहकार्य हुन्छ'
बेनी : चुनाव प्रचारका क्रममा म्याग्दी पुगेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेस र एमालेसँग निर्वाचनमा समीकरण नगरे पनि सहकार्य भने हुने बताए। बुधवार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले त्यही नीति अनुसार यसपटक कांग्रेस र एमालेसँग समीकरण नगर्दा सिङ्गो पार्टीपंक्तिमा उत्साह छाएको दाबी गरे।
कांग्रेस र एमालेसँग मिल्ने गल्ती नगर्दा ७७ जिल्लामा नै पार्टीका नेताहरू खुसी र उत्साही भएर सक्रियताका साथ जनतामाझ पुग्ने र उनीहरूका गुनासा, सुझाव सुन्ने काम भइरहेको भन्दै उनले कमजोरी स्विकार्ने र गल्ती नदोहोर्याउने प्रतिबद्धता गर्ने वातावरण मिलेको दाबी समेत गरे।
"तपाईँहरू पनि यहाँ खुसी नै भएको देखेँ मैले। पार्टीले अहिले कांग्रेससँग र एमालेसँग समीकरण गरेन,आफ्नै खुट्टामा एक्लै चुनाव लड्ने भनेर आँट गर्यो। सामाजिक सञ्जालमा मिल्न लाग्यो रे भन्ने आउँछ, तपाईँहरू झसङ्ग हुनुहुन्छ होला। म दृढताका साथ भन्न चाहन्छु हामी कसैसँग पनि यो पटक समीकरण गर्ने वाला छैनौँ, गर्दैनौँ।"
उनले काँग्रेस र एमालेको महाधिवेशनले निम्ताएको अन्तर्विरोध, नेकपासँग २६ वटा वाम घटकहरूको एकता, नयाँ राजनीतिक दलहरूप्रति जनताले विश्वास गरिसक्ने अवस्था नभएकाले आफ्नो पार्टीले त्यसको फाइदा पाउने दाबी समेत गरे।
उनले कार्यकर्ताहरूले अझै तीन हप्ता मेहनत गरे नेकपा पहिलो दल बन्ने दाबी समेत गरे। कसैसँग नजिक र कसैलाई टाढा बनाउने भन्दा पनि सबैसँग संवाद गरिराख्ने र सन्तुलित सम्बन्ध बनाउने नीति पार्टीको रहेको भन्दै चुनावपछि भने कांग्रेस-एमालेसँग सहकार्य हुनसक्ने बताए।
माघ २८, २०८२ बुधबार १९:५५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।