एनआइसी बैंकको वेबसाइट र एपमै प्यान र इमेल अद्यावधिक गर्ने सुविधा

एनआइसी बैंकको वेबसाइट र एपमै प्यान र इमेल अद्यावधिक गर्ने सुविधा

काठमाडौं : वेबसाइट वा एपबाट सहजै प्यान नम्बर र इमेल अद्यावधि गर्न सक्ने सुविधा सहित एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई अनिवार्य रूपमा स्थायी लेखा नम्बर र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। 

बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई इटिडिएस रेकर्डमा जनाउन प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भएपछि आयकरको प्रणालीले स्वचालित रूपमा करकट्टी विवरण मिलान गर्ने, ग्राहकले करकट्टी र कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सक्ने र प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने झन्झट नहुने जनाएको छ।

प्यान अद्यावधिक नगराएका कारण इ डिटिएस मा ब्याजदर दाखिला नभएमा वा पछि ब्याज कर समायोजन गर्नुपरेमा बैंक जिम्मेवार नहुने विज्ञप्तिमा उल्लेख छ।

बैंकले आयकर ऐन २०५८ बमोजिम करकट्टीको विवरणलाई आन्तरिक राजश्व विभागको प्रणालीमा आबद्ध गर्न प्यान आवश्यक पर्ने भएको भन्दै अद्यावधि गर्न आग्रह गरेको हो।

बैंकका अनुसार ग्राहकहरूले बैंकसम्म नपुगी बैंक वेबसाइटबाटै सहजै डिजिटल माध्यमबाट विवरण अद्यावधिक गर्न सक्नेछन्। यसका लागि बैंकको वेभसाइटमा गएर वा मोबाइल बैंकिङ्ग एपमा रहेको प्यान अपडेट अप्सनमा गएर अद्यावधि गर्न सकिनेछ।

इमेल ठेगानाको लागि बैंकको भिडियो केवाइसी वा मोबाइल बैंकिङ्ग एपको माई प्रोफाइलमा गएर बदल्ने सक्ने बैंकले जानकारी दिएको छ। बैङ्कमै गएर अद्यावधि गर्न चाहेमा बैंकको कुनै पनि शाखामा गएर बदल्न सकिने बैंकले जानकारी दिएको छ।

माघ २८, २०८२ बुधबार १८:०५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।