फ्रान्समा ७९ वर्षीय शिक्षकमाथि ८९ नाबालिगको यौन शोषण र आफ्नै आमाको हत्याको आरोप

फ्रान्समा ७९ वर्षीय शिक्षकमाथि ८९ नाबालिगको यौन शोषण र आफ्नै आमाको हत्याको आरोप

एजेन्सी :  फ्रान्समा एक ७९ वर्षीय रिटायर्ड शिक्षकमाथि दशकौं लामो यौन अपराधको गम्भीर आरोप लागेको छ।

ज्याक लेभुगल नाम गरेका ती व्यक्तिले सन् १९६० देखि २०२२ सम्म ८९ जना नाबालिगलाई बलात्कार र यौन शोषण गरेको आरोप लागेको हो।

फ्रान्सको ग्रेनोबल शहरका अभियोजक एटिएन मान्टोले मंगलबार यो घटना सार्वजनिक गर्दै पीडितहरूलाई अगाडि आउन अपिल गरेका छन्।

अभियोजकका अनुसार ज्याक लेभुगलले सन् १९६७ देखि २०२२ को बीचमा फ्रान्सबाहेक भारत, जर्मनी, स्विजरल्याण्ड, मोरक्को, नाइजर, अल्जेरिया, फिलिपिन्स र कोलम्बियामा समेत नाबालिगहरूमाथि यौन दुर्व्यवहार गरेका थिए।

उनी पेशाले फ्रेन्च भाषाका शिक्षक र स्पेलियोलजीका प्रशिक्षक थिए। यही पेशाको आवरणमा उनी विभिन्न ठाउँमा गएर युवाहरूसँग भेट्थे र यौन सम्बन्ध राख्थे। पीडितहरूको उमेर १३ देखि १७ वर्षको बीचमा रहेको बताइएको छ।

शिक्षकका भतिजालाई उनीमाथि शंका लागेर कोठा खानतलासी गर्दा एउटा यूएसबी ड्राइभ फेला पारेका थिए।

ड्राइभमा नाबालिगहरूसँगको यौन सम्बन्धका तस्बिर र १५ भागमा लेखिएको विस्तृत विवरण थियो। यही विवरण पढेर अनुसन्धानकर्ताहरूले ८९ जना पीडितको पहिचान गरेका हुन्।

यसका अलावा अनुसन्धानका क्रममा आरोपीले सन् १९७० को दशकमा क्यान्सर पीडित आफ्नै आमालाई तकियाले मुख थुनेर हत्या गरेको स्वीकारेका छन्।

साथै, सन् १९९० को दशकमा ९२ वर्षीया फुपूले यात्रामा जान रोकेपछि सुतिरहेको अवस्थामा उनलाई पनि तकियाले थिचेर मारेको बताएका छन्। उनले आफ्नो डायरीमा दुई जनाको हत्या गरेको उल्लेख गरेका थिए।

सन् २०२४ मा आरोप तय भएपछि हिरासतमा रहेका ज्याक लेभुगलको १९६५ देखि २००० को दशकसम्मका तस्बिरहरू फ्रान्समा सार्वजनिक गरिएको छ, ताकि पीडितहरूले उनलाई चिनेर अगाडि आउन सकून्।

गत वर्ष मात्रै फ्रान्समा एक रिटायर्ड डाक्टर जोएल ले स्कुआर्नेकलाई २५ वर्षमा २९९ जना बिरामीमाथि यौन शोषण गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो। उनले अस्पतालमा बिरामीलाई बेहोस बनाएर शोषण गर्ने गरेका थिए।

माघ २८, २०८२ बुधबार १४:०५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।