सुक्खाबन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो
वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खा बन्दरगाहमा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ७२ रेल्वे र्याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को समस्याको कारणले चालु आवमा रेल्वे र्याक आउने क्रममा केही गिरावट आएको छ।
गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा १६ कम रेल्वे र्याकमार्फत वस्तु तथा सामान भित्रिएका छन्। गत आवको छ महिनामा भने पाँच सय ८८ रेल्वे र्याकमार्फत वस्तु तथा सामान भित्रिएको थियो।
वीरगञ्जको सुुक्खाबन्दरगाहमा भारतको कोलकत्ता र हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ। एक पटकमा रेल्वे र्याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ।
नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रेल्वेर्याकमार्फत हुने आयातमा १६ वटा रेल्वेर्याकमार्फत कमी आएको बताए।
चालु आवको साउनमा ९४ र्याक, भदौमा ९०र्याक, असोजमा १०१ र्याक, कात्तिकमा ९१ र्याक, मङ्सिरमा ९२ र्याक र पुस महिनामा १०४ रेल्वे र्याकमार्फत वस्तु तथा सामान ल्याइएको थियो।
गत आवको साउनमा ९९ रेल्वे र्याक, भदौमा १०२ वटा, असोजमा ११० वटा, कात्तिकमा ७९ वटा, मङ्सिरमा ९० र पुसमा १०८ रेल्वे र्याकमार्फत वस्तु तथा सामान भित्राइएको थियो।
सुक्खाबन्दरगाहमा विशेष गरी स्पन्ज आइरन,रासायनिक मलखाद, जिप्सन तथा फलाम, कोइलालगायतका आयात गर्ने गरिन्छ। यहाँको वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापन गर्ने प्रिष्टिन भ्यालीका ‘अपरेसन इञ्चार्ज’ अभिषेक मिश्रले भारतीय रेल्वे प्रणालीमा विगत दुई महिनाअघि देखिएको समस्या अहिले विस्तारै कम हुँदै गइरहेको बताए।
“केही महिनाअघिसम्म भारतको विहार राज्यमा निर्वाचन र चाडपर्वको कारणले पनि रेलसेवा केही प्रभावित भएको थियो”, उनले भने, “अहिले रेलसेवा केही सहज भइरहेको छ।”
उनले कोलकोत्ताबाट मालबाहक सामान बोकेको रेल्वे र्याक वीरगञ्जसम्म आइपुग्न करिब आठ दिन लाग्ने र विशाखापटनमबाट भने करिब १० दिन लाग्ने दाबी गरे।
माघ २८, २०८२ बुधबार १२:४८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।