बुवा मजदुर, छोराको खातामा करोडौंको ‘रोटेसन’ : मोबाइलमा भेटियो तीन वटा क्रिप्टो करेन्सीको लगइन

बुवा मजदुर, छोराको खातामा करोडौंको ‘रोटेसन’ : मोबाइलमा भेटियो तीन वटा क्रिप्टो करेन्सीको लगइन

काठमाडौं : एउटा सामान्य परिवार, बुवा कारखाना मजदुर, आमा गृहिणी अनि छोराको सामान्य कमाइ। तर, तिनै २४ वर्षीय छोराको बैंक खातामा भने करोडौंको कारोबार। सुन्दा कुनै चलचित्रको कथा जस्तो लाग्ने यो घटना काठमाडौंको डल्लुमा डेरा गरी बस्ने बारा जिल्लाका एक युवकको हो।

नेपाल सरकारले अवैध घोषणा गरेको ‘क्रिप्टोकरेन्सी’को कारोबार र सम्पत्ति शुद्धीकरणको कसुरमा संलग्न भएको आरोपमा बाराको कलैया उपमहानगरपालिका-२० घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय मोहम्मद सेफ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको अभियोग पत्र अनुसार, सामान्य आर्थिक हैसियत भएका सेफले छोटो समयमै विभिन्न १० वटा बैंक खातामार्फत करिब साढे सात करोड रुपैयाँ बराबरको अवैध कारोबार गरेको र कुल कारोबारको सञ्जाल १९ करोड रुपैयाँभन्दा माथिको देखिएको छ।

भद्रकालीमा पक्राउ र मोबाइलको रहस्य
२०८२ मंसिर १० गते काठमाडौंको भद्रकाली स्थित सडकमा साँझ ६ बजेको समयमा प्रहरीले शंकास्पद अवस्थामा मोहम्मद सेफलाई फेला पार्छ। खानतलासी गर्दा उनको साथबाट दुईवटा मोबाइल बरामद हुन्छन्। तिनै मोबाइल भित्र लुकेको थियो, करोडौंको अवैध कारोबारको डिजिटल प्रमाण।

प्रहरीले अनुसन्धानका क्रममा उनको अनर कम्पनीको मोबाइल चेकजाँच गर्दा त्यसमा बाइनान्स नामक क्रिप्टोकरेन्सी कारोबार गर्ने एप लग-इन अवस्थामा फेला पर्यो। त्यही खाता प्रयोग गरेर उनले नेपालमा प्रतिबन्धित डिजिटल मुद्राहरू युएसडीटी, बोन्क र पेपेको कारोबार गरिरहेको तथ्य खुल्यो।

प्रहरीको प्रारम्भिक अनुसन्धान र अभियोग पत्रमा उल्लेख भए अनुसार, बरामद मोबाइलको डिजिटल फरेन्सिक जाँच गर्दा उनले क्रिप्टोकरेन्सीको कारोबारबाट कुल १९ करोड ८१ लाख ४९ हजार ६ सय ८१ रुपैयाँ बराबरको अवैध कारोबार गरेको देखिन्छ।

मोबाइलमा फेला परेका एक्सेल सिट, ह्वाट्सएपमा भएका कुराकानी र स्क्रिनसटहरूले उनी ठूलो सञ्जालमा काम गरिरहेको पुष्टि गरेको प्रहरीको दाबी छ।

यद्यपि, नेपालका बैंकहरूमा प्रत्यक्ष रूपमा देखिएको र प्रमाणित भएको रकमलाई आधार मानेर सरकारी वकिलले ७ करोड ४९ लाख ४७ हजार १ सय ३३ रुपैयाँ १२ पैसालाई बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।

१० वटा बैंकमा खाता, करोडौंको ‘रोटेसन’
अभियोग पत्र अनुसार मोहम्मद सेफले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, सिटिजन्स बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र प्राइम कमर्सियल बैंक जस्ता संस्थाहरूमा खाता खोलेका थिए।

अनुसन्धानमा देखिए अनुसार, छोटो समयमै उनको खातामा विभिन्न व्यक्तिहरूबाट रकम जम्मा हुने र लगत्तै एटीएम वा चेक मार्फत नगद झिक्ने काम निरन्तर भइरहेको थियो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खातामा मात्रै तीन महिनाको अवधिमा करिब ८९ लाख रुपैयाँको कारोबार भएको देखिन्छ भने मुक्तिनाथ विकास बैंकमा सन् २०२१ देखि २०२५ को बीचमा ७५ लाखभन्दा बढीको कारोबार भएको छ।

को हुन् ‘मुराद आलम’?
बयानका क्रममा मोहम्मद सेफले आफू मुख्य योजनाकार नभएको जिकिर गरेका छन्। उनले ‘मुराद आलम’ नामक व्यक्तिको निर्देशनमा यो सबै काम गरेको बताएका छन्। सेफको बयान अनुसार, करिब ८/९ महिना अगाडि अनलाइनमार्फत चिनजान भएका मुराद आलमले नै उनलाई क्रिप्टो कारोबार सिकाएका थिए।

सेफले बयानमा भनेका छन्, ‘मलाई मुराद आलमले नै बाइनान्सको आईडी र पासवर्ड दिएका हुन्। मैले त केवल उनले भने अनुसार युएसडीटी लगायतका क्वाइनहरू अनलाइनमा बिक्री गरेर आएको रकम आफ्नो बैंक खातामा थाप्ने काम मात्र गर्थें।’

यसबापत मुराद आलमले उनलाई मासिक २०० देखि २५० युएसडीटी (करिब ३०/३५ हजार रुपैयाँ) कमिसन दिने गरेका थिए। सेफका अनुसार, बैंकमा जम्मा भएको रकम उनले चेक र एटीएमबाट नगदै झिकेर मुराद आलमले पठाएका अपरिचित व्यक्तिहरूलाई बुझाउने गरेका थिए।

ती रकम बुझ्ने व्यक्तिहरूलाई आफूले नचिन्ने र उनीहरू मुराद आलमको मान्छे भएको उनको दाबी छ। तर, प्रहरी अनुसन्धानले ‘मुराद आलम’ भन्ने व्यक्ति को हुन् र कहाँ छन् भन्ने यकिन गर्न सकेको छैन।

प्रहरीका अनुसार आफू बच्नका लागि मात्र उनले यस्तो काल्पनिक वा वास्तविक पात्र खडा गरेको हुन सक्ने वा उनी पैसा ओसारपसार गर्ने माध्यमको रूपमा प्रयोग भएको हुन सक्ने देखिन्छ।

आर्थिक हैसियत र कारोबारको असन्तुलन
सम्पत्ति शुद्धीकरणको कसुर पुष्टि गर्न अभियोग पत्रमा प्रतिवादीको पारिवारिक र आर्थिक अवस्थाको मिहिन विश्लेषण गरिएको छ।

सेफको परिवार बाराको कलैयामा सामान्य अवस्थामा रहेको छ। उनका बुवा मुर्तोजा मियाँ स्थानीय एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्थे, जसको मासिक कमाइ २५ हजार रुपैयाँ मात्र थियो। आमा गृहिणी हुन् भने भाइहरू विद्यार्थी छन्।

स्वयं मोहम्मद सेफले पनि आफूले मासिक २५ देखि ३० हजार रुपैयाँ मात्र कमाउने गरेको र परिवारको खर्च मासिक १५-२० हजार हुने बताएका छन्।

यस्तो सामान्य आयस्रोत भएको व्यक्तिको बैंक खातामा ७ करोड भन्दा बढी रकम आउनु र १९ करोडको क्रिप्टो कारोबार हुनुले उक्त सम्पत्तिको स्रोत अवैध रहेको पुष्टि हुने सरकारी वकिलको ठहर छ।

आम्दानीको वैध स्रोत नखुलेको र अवैध क्रिप्टो कारोबारबाट आर्जित रकमलाई बैंकिङ प्रणालीमा छिराएर वैध बनाउन खोजेको देखिएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐन आकर्षित भएको हो।

जिल्ला सरकारी वकिल कार्यालयले मोहम्मद सेफ विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २६२ (क) अन्तर्गत ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने’ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा सजायको माग गरेको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मुद्रा बाहेक अन्य अभौतिक मुद्राको कारोबार गर्नु गैरकानुनी भएकाले विदेशी विनिमय/क्रिप्टो कसुरमा सजायको माग गरिएको छ भने अवैध रूपमा आर्जन गरेको ७ करोड ४९ लाख ४७ हजार १ सय ३३ रुपैयाँ १२ पैसालाई नै बिगो कायम गरिएको छ।

माघ २८, २०८२ बुधबार ११:२७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।