बंगलादेशका खेलकुद मन्त्रीले भने- विश्वकप खेल्न भारत नजाने निर्णय सरकारको हैन, बोर्ड र खेलाडीहरूको थियो

बंगलादेशका खेलकुद मन्त्रीले भने- विश्वकप खेल्न भारत नजाने निर्णय सरकारको हैन, बोर्ड र खेलाडीहरूको थियो

एजेन्सी : बंगलादेशका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले भारतमा जारी १०औं टी-२० विश्वकपमा सहभागी नहुने निर्णयप्रति आफूलाई कुनै पछुतो नरहेको बताएका छन्।

मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै नजरुलले भने, ‘पछुतो? यसमा पछुतो मान्नुपर्ने कुनै कारण नै छैन।’

उनले यो निर्णय बंगलादेश क्रिकेट बोर्ड र खेलाडीहरू स्वयंले देशको सुरक्षा र राष्ट्रको सम्मानका लागि लिएको भन्दै उनीहरूको प्रशंसा गरे। यद्यपि, गत महिना उनले नै सुरक्षाको कारण देखाउँदै भारत नजाने निर्णय सरकारले गरेको बताएका थिए।

नजरुलले हालै लाहोरमा पाकिस्तान क्रिकेट बोर्ड, आईसीसी र बीसीबीबीच भएको छलफलमा बंगलादेशले देखाएको ‘क्रिकेट कूटनीति’ को खुलेर तारिफ गरे।

उनले भने, ‘उनीहरूको कूटनीति हेर्नुहोस्। अन्ततः आईसीसीले हामीलाई प्रतियोगिता बहिष्कार गरेकोमा कुनै जरिवाना वा कारबाही गरेन। उल्टै भविष्यमा हुने विश्वव्यापी प्रतियोगिताको सह-आयोजक बनाउने भएको छ। यो बीसीबीको ठूलो सफलता हो। यस्तो अवस्था १० पटक आए पनि १० पटक नै यस्तै निर्णय लिनुपर्छ।’

स्मरण रहोस्, बंगलादेशले भारत जान अस्वीकार गरेपछि आईसीसीले स्कटल्याण्डलाई बंगलादेशको स्थानमा विश्वकपमा समावेश गरेको थियो।

यसैबीच, बंगलादेशको समर्थनमा सुरुमा भारतविरुद्ध नखेल्ने अडान लिएको पाकिस्तानले अब खेल्ने भएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले कूटनीतिक छलफल र मित्र राष्ट्रहरूको आग्रहपछि फेब्रुअरी १५ मा कोलम्बोमा हुने भारतविरुद्धको खेलका लागि पाकिस्तानी टोलीलाई अनुमति दिएका छन्।

माघ २८, २०८२ बुधबार १०:५२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।