क्यानडाको विद्यालयमा भयानक गोलीकाण्ड : १० जनाको मृत्यु, २७ घाइते
एजेन्सी : क्यानडाको ब्रिटिश कोलम्बियास्थित टम्बलर रिज सेकेन्डरी स्कुलमा मंगलबार दिउँसो भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। यो घटनाले शान्त मानिने टम्बलर रिज समुदायलाई स्तब्ध बनाएको छ।
स्थानीय समय अनुसार मंगलबार दिउँसो करिब १:२० बजे विद्यालय परिसरमा गोली चलेको थियो।
घटना लगत्तै रोयल क्यानेडियन माउन्टेड पुलिसले ‘एक्टिभ शूटर’को चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई घरभित्रै सुरक्षित बस्न आग्रह गरेको थियो। तर, साँझ ५:४५ बजे खतरा टरेको जानकारी दिँदै लकडाउन हटाइएको थियो।
गोली काण्डमा कुल १० जनाको ज्यान गएको छ। जसमध्ये ६ जना विद्यालयभित्र, १ जना अस्पताल लैजाँदै गर्दा र २ जना घटनासँग सम्बन्धित एक घरमा मृत फेला परेका छन्।
गोली चलाउने संदिग्ध व्यक्तिले पनि आत्महत्या गरेको पाइएको छ। दुर्घटनामा करिब २७ जना घाइते भएका छन्। गम्भीर घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार गोली चलाउने संदिग्ध व्यक्ति मृत अवस्थामा भेटिएका छन्। प्रारम्भिक रिपोर्टमा संदिग्ध महिला जस्तो देखिएको बताइएको छ।
घटनामा अरू कसैको संलग्नता थियो कि भन्ने बारे र गोली चलाउनुको कारणबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ।
टम्बलर रिज करिब २३ सय जनसंख्या भएको सानो शहर हो। कक्षा ७ देखि १२ सम्म पढाइ हुने यस विद्यालयमा करिब १७५ विद्यार्थी अध्ययनरत थिए। घटनापछि सो विद्यालय र नजिकैको अर्को विद्यालयलाई हप्ताभरिका लागि बन्द गरिएको छ।
सबै विद्यार्थी र कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ भने स्थानीय सरकारले पीडित परिवार र समुदायलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
माघ २८, २०८२ बुधबार ०९:५८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।