'मलाई सुपरस्टार होइन, 'निखिल' नै भनिदिनुस् : नामभन्दा मेहनतमा विश्वास गर्छु'

'मलाई सुपरस्टार होइन, 'निखिल' नै भनिदिनुस् : नामभन्दा मेहनतमा विश्वास गर्छु'

काठमाडौं :  कुनै समय नेपाली रजतपटमा एक्सन विधामा सर्वाधिक डिमाण्डेड अभिनेता हुन् निखिल उप्रेती। उनलाई दर्शक र निर्माताहरूले ‘एक्सन किङ’को उपाधिसमेत दिए। यद्यपि, उप्रेती आफू उपाधिमा भन्दा मेहनतमा विश्वास गर्ने बताउँछन्।

मङ्गलबार ललितपुरको बङ्गलामुखी मन्दिरमा आफ्नो मुख्य भूमिका रहने चलचित्र ‘कस्तुरी’को शुभमुहूर्त कार्यक्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफूलाई ‘किङ’ वा ‘सुपरस्टार’ भन्दा ‘निखिल’ नै भनिनुमा सहज महसुस हुने बताए।

उनले भने, “मलाई कुनै उपाधि नदिँदा पनि चल्छ। मलाई निखिल उप्रेतीभन्दा ठिक लाग्छ, किङ भन्यो भने पनि अप्ठ्यारो लाग्छ, सुपरस्टार भन्यो भने पनि अप्ठ्यारो लाग्छ। म एउटा सिम्पल मान्छे हो।”

कामप्रतिको आफ्नो दृष्टिकोण स्पष्ट पार्दै उनले थपे, “मैले त्यति राम्रो काम जानेको पनि छैन। मैले मेरै बारेमा तारिफ गर्नुपर्दा म बडा मेहनत गर्न चाहन्छु। मेहनतका लागि जहिल्यै पनि तयार छु र त्यो मेहनतले नतिजा दिने हो। बाँकी खुबी र ट्यालेन्टका कुरा गर्ने हो भने मभन्दा राम्रा नै छन् जस्तो लाग्छ।”

हाल उप्रेती आफ्नै कथा र निर्देशनमा चलचित्र ‘आचार्य’ निर्माण गरिरहेका छन्। उक्त चलचित्रको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले नेपाली दर्शकको फेरिएको आकर्षणलाई पुरा गर्नेगरि फिल्म बनाउने कोसिस गरेको दाबी गरे।

“हामीले चलचित्र बनाएर, चलचित्र खेलेर पनि देशको लागि सोच्न एकदमै जरुरी छ,” उनले भने, “विदेशी चलचित्रले एउटा राम्रो जरो गाडिसकेको छ। यो जरोलाई हामीले कमजोर गर्नका लागि पनि उनीहरूकै टाइपको चलचित्र बनाएर उनीहरूमाथि नै प्रहार गर्नु भन्ने मेरो भनाइ छ।”

उनले विदेशी चलचित्रलाई प्रतिबन्ध लगाएर नभई, गुणस्तरमार्फत प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए। उनले अगाडि भने, “उनीहरूलाई प्रतिबन्ध लगाएर होइन कि हाम्रा दर्शकले उनीहरूको चलचित्रबाट जे चिज पाएर त्यतातिर आकर्षण बढेको छ, त्यो आकर्षण तोड्नका लागि मैले निर्माण गरेको फिल्म ‘आचार्य’ मा त्यो लेभलको कोसिस छ। हाम्रो बजेटमा त्यो लेभलको कोसिस छ, हामी उनीहरूको जस्तो ठूलो बजेटमा त जान सक्दैनौं।”

निखिलले पछिल्लो समय आफ्नै ब्यानरका साथै बाहिरी ब्यानरका फिल्ममा पनि सक्रियता बढाएका छन्। ऋत बोहोराको कथा तथा निर्देशनमा बन्न लागेको ‘कस्तुरी’ मा निखिलको जोडी वर्षा सिवाकोटीसँग बाँधिने निर्माण पक्षले जनाएको छ। साथै उनी कृषा चौलागाईंको निर्देशनमा बन्ने चलचित्र ‘पारस’ मा पनि अनुबन्धित भएका छन्। आफ्नै चलचित्रको व्यस्तताका कारण देखाउँदै उनले रेखा थापाको चलचित्र ‘३६ को आँकडा’ भने छोडेका थिए।

माघ २७, २०८२ मंगलबार १५:३२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।