खेतमा घाँस काटेको विवादमा झडप हुँदा तीन जना गम्भीर घाइते
रौतहट : रौतहटमा खेतमा घाँस काटेको विवादमा झडप हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
देवानी गोनाही नगरक्षेत्र अन्तर्गत खेतमा घाँस काटेको विषयमा सोमवार राती विवाद हुँदा तीन महिला गम्भीर घाइते भएका हुन्।
महेश तिवारीको पाकेको तोरीको खेतमा शङ्कर रायको घरका महिलाहरूले घाँस काट्दा क्षति पुगेको कुरामा विवाद भएको थियो। विवाद बढ्दै गएपछि राय परीवारले तिवारीका छोरीमाथी कुटपीट गरेका थिए।
कुटपीटबाट तिवारीका छोरीहरू अस्मिता तिवारी र सुस्मिता तिवारी र झगडा छुटाउन गएकी छिमेकी अनातिया बिन गम्भीर घाइते भएको महेश तिवारीका भतिज राजेश तिवारीले बताए।
अनतियाको टाउकोमा गहिरो खत लागेको, सुस्मिता र अस्मिताको जिउभरि चोटपटक लागेको तिवारीले बताए।
घाइतेहरूकाे बारा कलैया स्थित ए प्लस अस्पतालमा उपचार भइरहेको छ। घाइते तीनै जनाकाे अवस्था सामान्य हुँदै गएको चिकित्सकले बताएका छन्।
घटनामा संलग्न शम्भु राय यादव पक्राउ परेको रौतहट प्रहरी प्रमुख सिताराम रिजालले जानकारी दिए।
घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
माघ २७, २०८२ मंगलबार ११:५३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।