वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
पर्सा : वीरगन्जकाे अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
“सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको सिसीक्यामेरा फुटेज हेरेर आवश्यक अनुसन्धान भइरहेको छ”, उनले भने, “सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेकाले पनि संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गर्नेछौँ।”
वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरस्थित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो।
संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो।
सो ठाउँबाट सशस्त्र प्रहरीले करिब १२ लाख ५० हजार मूल्यका सामान बरामद गरेको जनाएको छ।
माघ २७, २०८२ मंगलबार ११:०२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।