बुटवलका मेयरको हातमा झाडु, सोह्र-छत्तीस नहरमा ‘विष’ : संकटमा दक्षिण एसियाकै नमुना सिँचाइ प्रणाली
बुटवल : बुटवल उपमहानगरपालिका यतिबेला आफ्नो ६७ औं स्थापना दिवसको उत्सवमा छ। सडकमा हातमा झाडु बोकेर बुटवलका मेयर खेलराज पाण्डे र उपमेयर सावित्रा अर्यालको टोली सरसफाइमा व्यस्त देखिन्छ।
विद्यार्थी, कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरूको लर्को देख्दा लाग्छ- बुटवल अब पूर्णतः स्वच्छ र सफा शहर बन्ने दिशामा छ। फागुन २ गतेसम्म चल्ने यो ‘सप्ताहव्यापी सरसफाइ अभियान’ को राम्रै तामझाम देखिन्छ।
तर, सडकमा झाडु चल्दै गर्दा बुटवलको मुटु भएर बग्ने ऐतिहासिक र रणनीतिक महत्त्वको ‘सोह्र-छत्तीस संयुक्त सिँचाइ प्रणाली’ भने विलाप गरिरहेको छ।
सडक चम्काउने अभियान चलिरहँदा शहरको बीचबाट बग्ने यो विशाल नहर भने फोहोरको डम्पिङ साइटमा परिणत भएको छ। सडकको धूलो बढार्ने नगरपालिकाले आफ्नै नाकमुनि रहेको यो सभ्यताको विनाशलाई भने नजरअन्दाज गरिरहेको भान हुन्छ।
कलकल बग्ने पानी अब ‘विषादी’
कुनै समय थियो, जतिबेला सोह्र-छत्तीस नहरमा कलकल गर्दै कञ्चन पानी बग्दथ्यो। बुटवलदेखि आनन्दवन, शंकरनगर, मक्रहर र टिकुलीगढसम्मका बासिन्दाले यही पानीले नुहाइधुवाइ गर्थे, कतिपय ठाउँमा त पिउन समेत प्रयोग हुन्थ्यो।
वस्तुभाउका लागि यो नै मुख्य स्रोत थियो। तर, आज समय फेरिएको छ। आज यो नहरमा पानी होइन, बुटवल शहरको ढल र अस्पतालको विषाक्त फोहोर बग्छ।

सोह्र-छत्तीस नहरबारे जानकार युवराज कँडेलका अनुसार, यो नहर अहिले विषादीयुक्त नाली बनेको छ।
‘कुनै समय यो जीवनदायिनी थियो, अहिले यो रोग फैलाउने माध्यम बनेको छ,’ कंडेल भन्छन्, ‘बुटवलको अव्यवस्थित ढल प्रणालीका कारण सिँचाइको नहरलाई नै ढल निकासको केन्द्र बनाइएको छ।’
अझ डरलाग्दो कुरा त के छ भने, लुम्बिनी प्रादेशिक अस्पताल जस्तो संवेदनशील क्षेत्रबाट निस्कने जोखिमयुक्त फोहोर समेत रातको समयमा यही नहरमा मिसाइन्छ। अस्पतालको पश्चिमतर्फ बस्ने स्थानीय बासिन्दाहरू नहरबाट आउने दुर्गन्धले आजित भइसकेका छन्।
अतिक्रमणको चपेटामा १५० वर्ष पुरानो इतिहास
तिनाउ नदीको कन्याढुंगाबाट सुरु भएर रुपन्देहीको करिब ५ हजार हेक्टर जमिन सिञ्चित गर्ने यो प्रणाली दक्षिण एसियाकै एउटा नमुना मानिन्छ।
कन्याढुंगादेखि होराइजन स्कुलसम्म संयुक्त रूपमा आउने यो नहर त्यसपछि पूर्वतर्फ छत्तीस मौजा (१६ किलोमिटर) र पश्चिमतर्फ सोह्र मौजा (१३ किलोमिटर)मा विभाजित हुन्छ।
डेढ सय वर्ष पुरानो यो सिँचाइ प्रणाली अहिले भू-माफिया र अव्यवस्थित शहरीकरणको मारमा छ।
सोह्र-छत्तीस सिंचाइ प्रणालीका अध्यक्ष ध्रुव धितालका अनुसार कुनै समय २७ फिट चौडा रहेको यो नहर अहिले कतिपय ठाउँमा खुम्चिएर १० फिटमा झरेको छ। होराइजन नजिक त कुनै समय नहरको क्षेत्र १८० फिटसम्म चौडा थियो।
विडम्बना! नहरको क्षेत्र मिचेर ठूला-ठूला होटल, पार्टी प्यालेस र निजी संरचनाहरू ठडिएका छन्। ईट्टाभट्टी क्षेत्रमा त नहरको माथि नै ढलान गरेर घरहरू बनाइएका छन्।

होराइजन, मणिमुकुन्द कलेज, सिद्धार्थ स्कुल जस्ता शैक्षिक संस्थादेखि विभिन्न मन्दिर र संघ-संस्थाहरू समेत नहर अतिक्रमणको सूचीमा छन्।
अध्येता युवराज कंडेलका अनुसार नहरको डिल अतिक्रमण गरी ५८ वटा पुलपुलेसा बनाइएका छन् भने ३ वटा विद्यालय, २ वटा कलेज, एउटा चर्च, ४ वटा मन्दिर र २ सयभन्दा बढी घरहरूले प्रत्यक्ष रूपमा नहरको जग्गा मिचेका छन्।
किसानको खेतमा अन्न होइन, ‘प्लास्टिक’ फल्दै
बुटवलले फालेको फोहोरको मूल्य तल्लो तटीय क्षेत्रका किसानहरूले चुकाइरहेका छन्। नहरबाट बगेर आउने प्लास्टिक, थोत्रा कपडा, सिसा र अस्पतालजन्य फोहोरले किसानको खेत कुरूप मात्र बनाएको छैन, माटोको उर्वराशक्ति समेत नष्ट गरिरहेको छ।
टिकुलीगढका कृषक सुरेश रैना भन्छन्, ‘नहरमा आउने ढल र प्लास्टिकले माटोमा अम्लियपन बढाएको छ । खेत जोत्दा अन्नको साटो प्लास्टिकका बोरा र सिसाका टुक्रा निस्कन्छन्।’
अर्का कृषक अर्जुन शर्माका अनुसार तिलोत्तमा नगरपालिकाले आफूलाई 'प्लास्टिक मुक्त' घोषणा गरे पनि बुटवलबाट बगेर आउने प्लास्टिकले शंकरनगर, आनन्दवन र मक्रहरका किसानको टाउको दुखाइ बनेको छ।

नयाँ मिलका किसानहरू भन्छन्, ’हामीले बारम्बार बुटवल उपमहानगरलाई गुहार्यौं, तर कसैले सुनेनन् । मेयर साबहरू सडकमा फोटो खिचाउन झाडु बोक्नुहुन्छ, तर यहाँ किसानको खेत मरुभूमि बन्न लाग्दा ध्यान दिँदैनन्।’
जिम्मेवारीबाट पन्छिँदै नेतृत्व
नहर अतिक्रमण र फोहोरको विषयमा सिँचाइ प्रणालीका पदाधिकारीहरूले पटक-पटक उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन्।
छत्तीस मौजा सामुदायिक सिँचाइ प्रणालीका अध्यक्ष दधिराम गौतम भन्छन्, ‘नहर मिचेर बनाइएका संरचनाको नक्सा पास रोक्न र अतिक्रमण हटाउन हामीले अनुरोध गर्यौं, तर यहाँ राजनीति हावी भयो।’
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल भने नागरिक चेतनाको कमीलाई दोष दिन्छिन्।
‘हामीले फोहोर नफाल्न अनुरोध गरेका छौं, तर मानिशहरू मान्दैनन्,’ उनले भनिन्, ‘अब कडा जरिवाना र ‘अन द स्पट’ कारबाही नगरेसम्म नहर सफा राख्न गाह्रो देखिएको छ।’

अर्कोतर्फ, शहरी क्षेत्रमा बस्ने बासिन्दाहरू यो सिँचाइ प्रणालीको उपभोक्ता नभएका कारण उनीहरूमा अपनत्वको भावना हराउँदै गएको छ।
देवीनगर र योगीकुटी क्षेत्रमा घरहरू बनेपछि त्यहाँका मानिसले नहरलाई केवल ‘फोहोर फाल्ने ठाउँ’ मात्र ठानेका छन्।
माघ २७, २०८२ मंगलबार ११:०८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।