अमेरिका र बंगलादेशबीच ऐतिहासिक व्यापार सम्झौता, ट्यारिफ घटाएर १९ प्रतिशत कायम
एजेन्सी : अमेरिकाले बंगलादेशबाट आयात हुने सामानमा लाग्ने भन्सार शुल्क (ट्यारिफ) घटाएर १९ प्रतिशत कायम गरेको छ। सोमबार, ९ फेब्रुअरीमा दुई देशबीच एक महत्वपूर्ण व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै यो नयाँ दर लागू भएको हो।
ह्वाइट हाउसद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका र बंगलादेशले आफ्नो द्विपक्षीय आर्थिक सम्बन्धलाई सुदृढ बनाउन पारस्परिक व्यापार सम्झौतामा सहमति जनाएका छन्।’
सम्झौतामा अमेरिकाले बंगलादेशी सामानमा ट्यारिफ घटाएर १९ प्रतिशतमा झार्नेछ। साथै, भविष्यमा शून्य प्रतिशत ट्यारिफ लाग्ने सम्भावित उत्पादनहरूको पहिचान समेत गरिनेछ।
बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसका अनुसार, अमेरिकाले बंगलादेशमा अमेरिकी कपास र म्यान-मेड फाइबर प्रयोग गरी बनाइएका केही कपडा तथा तयारी पोसाकहरूमा शून्य ट्यारिफ सुविधा उपलब्ध गराउने संयन्त्र स्थापना गर्ने वाचा गरेको छ।
बदलामा बंगलादेशले अमेरिकी औद्योगिक र कृषिजन्य उत्पादनहरूलाई आफ्नो बजारमा प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। जसमा रसायन, मेडिकल डिभाइस, मेसिनरी र सवारी साधन अनि त्यसका पार्टपुर्जाहरू रहेका छन्।
यसका अलावा सूचना तथा सञ्चार प्रविधि उपकरण, ऊर्जा उत्पादन, सोया उत्पादन र दुग्धजन्य पदार्थ तथा बीफ, कुखुराको मासु, ओखर/बदाम र फलफूल रहेका छन्।
गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बंगलादेशमाथि ३७ प्रतिशत ट्यारिफ लगाउने घोषणा गर्नुभएको थियो। पछि अगस्टमा यसलाई घटाएर २० प्रतिशत कायम गरिएको थियो। अहिले नयाँ सम्झौतापछि यसलाई थप घटाएर १९ प्रतिशतमा सीमित गरिएको हो।
यस सम्झौतालाई दक्षिण एसियाली क्षेत्रमा बंगलादेशको बलियो आर्थिक पुनरागमन र अमेरिकासँगको सुमधुर सम्बन्धको रूपमा हेरिएको छ।
माघ २७, २०८२ मंगलबार ०९:०७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।