अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौँ : प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-६ जरङ्ख बस्ने नवलपरासी पूर्व घर भएका २४ वर्षीय गुराँस गुरुङ र काठमाडौँ नारायणथान बस्ने सिन्धुली दुधौली गाउँपालिका-२ घर भएका २३ वर्षीय रोशन भुजेल रहेका छन्।
उनीहरुका साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ८०० ट्याब्लेट बरामद गरेको छ। उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौँ महानगरपालिका-१६ ढुङ्गेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित काठमाडौँ टेकु बस्ने नुवाकोट घर भएका २२ वर्षीय प्रकाश ठकुरीलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले बा५५प ८४६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषध फेला पारी चालक ठकुरीलाई पक्राउ गरेको हो।
यसैगरी काठमाडौँ महानगरपालिका-१८ नरदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७० ट्याब्लेटसहित तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मकवानपुर घर भएका २४ वर्षीय राजेश गमाल, कालीकोट घर भएका २२ वर्षीय निराञ्जन रोकाय र काठमाडौँ महानगरपालिका-१८ घर भएका कुशलरत्न तुलाधर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। उनीहरूलाई प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
उता लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम विकलाई प्रहरीले पक्राउ गरेको छ। निजलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
कैलालीकै टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ३९० मिलिग्रामसहित सोही नगरपालिका-८ बस्ने १९ वर्षीय धनराज बुढा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ बस्ने २९ वर्षीय दिनेश विकलाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
मोरङ, ग्रामथान गाउँपालिका-५ सोमबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार २० ट्याब्लेट र स्पास्पेन एक हजार ५०० ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-११ बस्ने २५ वर्षीय रन्जित साह र सोही गाउँपालिका-५ तेतरिया चोकस्थित बैजनाथ औषधि पसलका सञ्चालक ७३ वर्षीय भकुलाल विश्वास थारू रहेका प्रवक्ता काफ्लेले बताए।
उनका अनुसार प्रहरी चौकी तेतरियाबाट खटिएको प्रहरीले तेतरियाबाट नेताचोकतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ३९७३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक रन्जित साह र सिटीमा सवार भकुलाललाई पक्राउ गरेको हो।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ पाँच ग्राम ४२ मिलिग्रामसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दीपक विक र २५ वर्षीय अशोक विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। उक्त घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए।
माघ २६, २०८२ सोमबार १५:५५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।