‘आ बाट आमा’को कमाइ ५ करोड नजिक, ‘द ब्लु लाइट’को निराशाजनक
काठमाडौं : चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो साप्ताहिक बक्स अफिस रिपोर्ट अनुसार फिल्म ‘आ बाट आमा’ ले आक्रामक व्यापार गरेको छ।
गत माघ १६ गते सहिद दिवसका दिन प्रदर्शनमा आएको यो फिल्मले दोस्रो साताको शनिबार रातिसम्म ४ करोड ८० लाख ९० हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
बोर्डको तथ्याङ्क अनुसार फिल्मका १ लाख ७६ हजार ५५२ टिकट बिक्री भएका छन्। यता निर्माण टिमले भने आइतबार दिउँसो ४ बजेसम्म फिल्मको व्यापार ५ करोड २० लाख पुगेको दाबी गरेको छ।
चन्द्र पन्त निर्देशित यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती लगायतका कलाकारहरूको अभिनय रहेको छ।
‘आ बाट आमा’सँगै प्रदर्शनमा आएको अर्पन थापा र बेनिशा हमाल अभिनित फिल्म ‘द ब्लु लाइट’को व्यापार भने अत्यन्तै कमजोर रह्यो।
फिल्मले जम्मा ३ लाख १९ हजार ५९५ रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ। दर्शकको अभावका कारण हलबाट दुई दिनमै उतारिएको यो फिल्मको ८३२ टिकट मात्र बिक्री भएको बोर्डले जनाएको छ।
गत माघ १ गतेबाट प्रदर्शनमा आएको मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को फिल्म ‘गोबर गणेश’ले अपेक्षित व्यापार गर्न सकेन।
प्रदर्शनको २४औं दिनसम्म आइपुग्दा फिल्मले ४९ हजार ५३१ टिकट बिक्री गर्दै १ करोड ४० लाख १९ हजार रुपैयाँको कारोबार गरेको छ। अघिल्लो हप्ताको तुलनामा फिल्मको व्यापारमा जम्मा ४ लाख रुपैयाँ मात्र थपिएको छ।
त्यस्तै, शनिबार केही हलमा ५१ दिन मनाएको अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्म ‘झरी पछिको इन्द्रेणी’ले १ करोड २९ लाख रुपैयाँभन्दा माथिको ग्रस कलेक्सन गरेको छ।
फिल्ममा दीपाश्री निरौला, गणेश उप्रेती, रमेश उप्रेती लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
माघ २६, २०८२ सोमबार १३:४७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।