टी२० विश्वकप डेब्युमै इटालीलाई ठूलो झट्का, कप्तान वेन म्याडसन चोटग्रस्त

टी२० विश्वकप डेब्युमै इटालीलाई ठूलो झट्का, कप्तान वेन म्याडसन चोटग्रस्त

कोलकाता : आफ्नो क्रिकेट इतिहासकै पहिलो टी२० विश्वकप खेलिरहेको इटालीका लागि सुरुआतमै ठूलो झट्का लागेको छ।

कोलकाताको इडेन गार्डेन्समा स्कटल्याण्डविरुद्धको खेलका दौरान इटालीका कप्तान वेन म्याडसन गम्भीर घाइते हुँदै मैदानबाट बाहिरिएका छन्।

खेलको चौथो ओभरमा स्कटल्याण्डका ओपनर जर्ज मुन्सीले थोमस ड्राकाको बलमा मिड-विकेटतर्फ प्रहार गरेको बल रोक्ने क्रममा म्याडसन घाइते भएका हुन्।

मिड-अनबाट आफ्नो देब्रेतिर दौडिएका ४२ वर्षीय म्याडसनले बल रोक्न डाइभ हानेका थिए। तर, उनी मैदानको छेउमा रहेको प्राक्टिस पिचमा बजारिन पुगे।

बजारिने बित्तिकै उनले आफ्नो देब्रे हात समातेर पीडा महसुस गरेका थिए। मैदानमा आएका फिजियोले प्रारम्भिक जाँच गरेपछि म्याडसनलाई सहारा दिएर मैदान बाहिर लगिएको छ।

काँधको हड्डी खुस्किएको आशङ्का खेलको प्रत्यक्ष प्रसारणका क्रममा कमेन्टेटर इयान बिशपले म्याडसनको काँधको हड्डी खुस्किएको पुष्टि गरेका छन्। यस चोटका कारण उनले स्कटल्याण्डविरुद्धको बाँकी खेल खेल्न नसक्ने भएका छन्।

उनी मैदानबाट बाहिरिएपछि अहिले बेन्जामिन मनेन्टीले टोलीको कप्तानी सम्हालिरहेका छन्।

समूह ‘सी’मा रहेको इटालीको यसपछिको खेल नेपालसँग फेब्रअुरी १२ तारिखमा मुम्बईको वानखेडे स्टेडियममा छ।

माघ २६, २०८२ सोमबार १२:०६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।