इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई थप साढे ७ वर्षको जेल सजाय

इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई थप साढे ७ वर्षको जेल सजाय

एजेन्सी : इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता तथा मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई थप साढे सात वर्षको जेल सजाय सुनाएको छ।

उनका वकिल मोस्तफा निलीले आइतबार सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, मोहम्मदीलाई ‘साठगाँठ गरी षड्यन्त्र रचेको’ आरोपमा ६ वर्ष र ‘प्रचारप्रसार गतिविधि’ गरेको आरोपमा डेढ वर्ष गरी कुल साढे सात वर्षको सजाय तोकिएको हो। यो फैसला इरानको उत्तर-पूर्वी सहर मशहदको अदालतले सुनाएको हो।

पछिल्लो पटक सन् २०२५ को डिसेम्बरमा एक शोक सभामा ‘भड्काऊ अभिव्यक्ति’ दिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो। सोही मुद्दामा अदालतले अहिले यो फैसला सुनाएको हो।

मोहम्मदी विगत लामो समयदेखि विभिन्न मुद्दामा जेल सजाय काटिरहेकी छिन्। सन् २०२४ को डिसेम्बरमा स्वास्थ्य समस्याका कारण उनलाई तीन हप्ताका लागि जेलबाट अस्थायी रिहाइ गरिएको थियो।

गार्डियनको रिपोर्ट अनुसार, अधिकारकर्मी र पश्चिमा देशहरूको दबाबका कारण उनको रिहाइको समय लम्बिएको थियो।

५३ वर्षीया नरगिस मोहम्मदी इरानमा महिलामाथि हुने दमन र अत्याचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी साहसी अधिकारकर्मी हुन्।

उनको यही सङ्घर्षको कदर गर्दै सन् २०२३ मा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।

माघ २६, २०८२ सोमबार १०:२०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।