झापामा सवारी दुर्घटनाबाट २५ दिनमै १८ जनाको मृत्यु

झापामा सवारी दुर्घटनाबाट २५ दिनमै १८ जनाको मृत्यु

सुरुङ्गा : झापामा पछिल्लो समय सवारी दुर्घटनाको ग्राफ उकालो लागेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार बितेको २५ दिन (माघ १ देखि २५ गतेसम्म) मा मात्रै सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो पटक आइतबार मात्रै अर्जुनधारा नगरपालिका-७ स्थित बिरिङ खोलामा भएको ट्याक्टर दुर्घटनामा एक किशोरको ज्यान गएको छ।

खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १-०१-००१ त ९०१० नम्बरको ट्याक्टरबाट खसेर पछाडिको चक्काले किच्दा सोही ट्याक्टरका सहचालक अर्जुनधारा-३ का १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको हो।

यस्तै, तीन दिनअघि स्कुटीको ठक्करबाट गम्भीर घाइते भएका अर्जुनधारा-३ का ४५ वर्षीय पैदलयात्री राजन बाँस्कोटाको पनि उपचारका क्रममा आइतबार नै मृत्यु भएको छ।

बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत बाँस्कोटाको निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

गत माघ २१ गते अर्जुनधारा-३ गरुवा चोकस्थित बिर्तामोड-खुदुनाबारी सडकखण्डमा प्र १-०१-०१८ प १६७ नम्बरको स्कुटीले बाटो काट्दै गरेका बाँस्कोटालाई ठक्कर दिएको थियो।

ठक्कर दिने स्कुटी र चालक इलाम माई नगरपालिका-३ की ३५ वर्षीया अमृता राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको थियो भने माघ १ गते एकैदिन तीन जनाले ज्यान गुमाएका थिए।

जिल्लामा पछिल्लो समय दिनहुँजसो सवारी दुर्घटना र मानवीय क्षति बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ।

माघ २६, २०८२ सोमबार ०९:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।