मिसन पुस्तान्तरण-१७ : रौतहट-३ मा पूर्वसहकर्मी प्रभु साहलाई टक्कर दिँदै ३९ वर्षीया पुनम
काठमाडौं : भदौ २३ र २४ गते सुशासन, जवाफदेहिता र राजनीतिक दलहरूमा पुस्तान्तरणको चर्को मागसहित सडकमा उर्लिएको जेनजी आन्दोलनले स्थापित पुराना दलहरूलाई आफ्नो कार्यशैली फेर्न बाध्य बनायो।
‘नो नट अगेन’ र पुस्तान्तरणको नारा केवल सामाजिक सञ्जालमा मात्र सीमित रहेन, यसपटक दलहरूले टिकट वितरणमै युवा अनुहारलाई प्राथमिकता दिएर केही सच्चिएको सन्देश दिन खोजेका छन्।
यही राजनीतिक र सामाजिक रूपान्तरणको लहरका बीच रौतहट क्षेत्र नम्बर ३ मा दशकौंदेखि एकछत्र राज गरिरहेका पूर्वमन्त्री प्रभु साहलाई चुनौती दिन मैदानमा उत्रिएकी छन् उनकै पूर्व सहकर्मी- ३९ वर्षीया पुनम देवी।
कात्तिक २० गते तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भएर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले रौतहट-३ बाट पुनमलाई अघि सारेको हो।
यो उम्मेदवारी एक व्यक्तिको मात्र नभई मधेशको पितृसत्तात्मक सामाजिक संरचना र वर्षौंदेखि जकडिएको पुरानो राजनीतिक विरासतविरुद्धको चुनौती पनि भएको पुनम बताउँछिन्।
मधेशमा महिला नेतृत्वको खडेरी र पुनमको उदय
रौतहट क्षेत्र नम्बर ३ को संसदीय इतिहास हेर्ने हो भने २०६४ सालको पहिलो संविधानसभा निर्वाचनयता यहाँबाट कुनै पनि दलले महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका थिएनन्।
यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ ४० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। तर, त्यसमा महिला जम्मा तीन जना मात्र छन्। तिनैमध्येकी एक हुन्- पुनम।
मधेशमा महिलाले खुलेर राजनीति गर्न अझै पनि सहज छैन। पछिल्लो समय सामाजिक चेतनामा केही परिवर्तन आए पनि महिलालाई घरको दैलो नाघेर सिंहदरबारको यात्रा तय गर्न फलामको चिउरा चपाउनु सरह छ।
अझ पुरुषप्रधान सामाजिक संरचना भएको रौतहटजस्तो ठाउँमा ३९ वर्षीया पुनमले देखाएको यो आँट आफैँमा अर्थपूर्ण छ।
विरासत राजनीति र संघर्ष
पुनमको राजनीतिक यात्रा हेर्दा उनी पूर्णतः नयाँ अनुहार भने होइनन्। उनको पारिवारिक पृष्ठभूमि राजनीतिक नै हो। उनका हजुरबुवा रामसिंह यादव पञ्चायतकालमै राष्ट्रिय पञ्चायत सदस्य थिए।
बुवा पनि तत्कालीन फतुवा विजयपुर गाविसका अध्यक्ष र पछि कांग्रेसको क्षेत्रीय सभापतिसम्म भए। पछि माओवादीमा प्रवेश गरेर मेयरको टिकट पाए पनि झिनो मतान्तरले पराजित भएका थिए।
‘हजुरबुवा र बुवाको राजनीतिक सक्रियताले मलाई पनि समाजसेवामा लाग्न प्रेरित गर्यो,’ पुनम भन्छिन्, ‘तर मेरो आफ्नै सक्रियता भने पछिल्लो १० वर्षदेखि मात्रै हो।’
उनी विद्यार्थी राजनीतिबाट आएकी होइनन्। माओवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी उनले सम्हालिसकेकी छिन्। पारिवारिक विरासत भए पनि उनले पार्टीको तल्लो तहबाटै काम गरेर आफ्नो स्थान बनाएकी हुन्।
पूर्वसहकर्मीसँगको ‘महासंग्राम’
रौतहट-३ मा पुनम जसका विरुद्ध लड्दैछिन्, उनी कुनै समय पुनमकै राजनीतिक सहयात्री थिए। त्यसकारण पनि यहाँको चुनावी भिडन्त रोचक छ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह यस क्षेत्रका अपराजित खेलाडी हुन्। २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका साहलाई कुनै बेला जिताउन पुनम आफैँ खटिने गर्थिन्। आज समय फेरिँदा हिजोकी सहकर्मी पुनम आज प्रभुसँग प्रतिस्पर्धी बनेर उभिएकी छन्।

प्रभु साह मधेशको राजनीतिमा ‘चतुर खेलाडी’ मानिन्छन्। माओवादी जनयुद्धबाट आएका साहले पटक-पटक मन्त्री पद सम्हाले। तर, उनको राजनीतिक अस्थिरता र ‘म्यानुपुलेसन’को शैलीबाट मतदाता वाक्क भएको पुनमको दाबी छ।
‘उहाँ (प्रभु साह) बारम्बार सांसद बन्नुभयो, मन्त्री बन्नुभयो। शक्तिको केन्द्रमा रहनुभयो। तर, रौतहट सधैँ पछाडि नै पर्यो,’ पुनम प्रश्न गर्छिन्, ‘अब जनताले उहाँलाई प्रश्न मात्र सोध्ने छैनन्, मत पनि फेर्ने मुडमा छन्।’
क्यान्सर अस्पतालदेखि रोजगारीसम्मको अजेन्डा
जेनजी आन्दोलनले स्थापित गरेको सुशासनको मुद्दालाई पुनमले आफ्नो मुख्य एजेन्डा बनाएकी छिन्।
उनका अनुसार रौतहट-३ मा बेरोजगारी, शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ। दशकौंदेखि एउटै व्यक्तिले जित्दा पनि क्षेत्रको मुहार नफेरिएको उनी बताउँछिन्।
‘यहाँका युवाहरू रोजगारी नपाएर खाडी मुलुक जान बाध्य छन्। शिक्षा र स्वास्थ्यमा माफियाको राज छ,’ उनी भन्छिन्, ‘मेरो उम्मेदवारी भनेको यहाँको विकासको मोडेल परिवर्तन गर्नका लागि हो।’
आफूले जिते रौतहटमा ‘क्यान्सर अस्पताल’ निर्माण गर्ने महत्वकांक्षी योजना छ उनको। यसका साथै कृषिमा आधुनिकीकरण, प्राविधिक शिक्षामा पहुँच र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उनका प्रमुख प्रतिबद्धता हुन्।
‘म यहीँको चेली हुँ, यहाँको माटोको पीडा मलाई जति अरूलाई थाहा छैन,’ उनले भनिन्, ‘मलाई विश्वास छ, यसपटक रौतहटले परिवर्तन रोज्नेछ।’
०००
भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।
हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार–प्रसार सुरु भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।
जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरु गरेको हो।
मिसन पुस्तान्तरणको यसअघिका सामग्री:
माघ २६, २०८२ सोमबार ०९:१०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।