मेघालयमा ज्यान गुमाएका खोटाङ्गे युवाको शव ल्याउन सकस, आर्थिक अभावले परिवार अलपत्र
खोटाङ : रोजगारीका लागि भारतको मेघालयमा कोइलाखानी विस्फोटमा ज्यान त गुमाएका खोटाङका युवाहरू शव ल्याउन समस्या भएको छ।
घटनाको खबर पाएपछि तीन दिनको यात्रा गरेर मेघालय पुगेका आफन्तहरू कानुनी झमेला, आर्थिक अभाव र शवको अवस्थाका कारण अलपत्र परेका छन्।
मेघालयस्थित पूर्वी जयन्तिया हिल्समा सञ्चालित कोइलाखानीमा गत माघ २२ गते भएको विस्फोटमा परी ज्यान गुमाउने तीन युवाको शव नेपाल ल्याउन अहिले ठूलो चुनौती खडा भएको छ।
मृतकका आफन्त प्रकाश खपाङ्गी मगरका अनुसार शव ल्याउनका लागि आर्थिक समस्या त छँदैछ, कानुनी प्रक्रिया र भौगोलिक कठिनाइले थप सास्ती दिएको छ।
खानीभित्र भएको शक्तिशाली विस्फोट र आगलागीका कारण शवहरू नचिनिने गरी जलेको आफन्तले जनाएका छन्। शवको पहिचान गर्न र अवैध खानी भएकाले कानुनी प्रक्रिया पूरा गरेर नेपाल फर्काउन निकै कठिन भइरहेको छ।
हलेसी तुवाचुङ नगरपालिका-५ का ५० वर्षीय रत्न राई त अझै बेपत्ता छन्। उनी खानीभित्रै जलेको आशंका गरिए पनि उनको कुनै अत्तोपत्तो छैन, जसले गर्दा परिवार थप पीडामा छ।
एकातिर परिवारको मुख्य सदस्य गुमाउनुको पीडा छ भने अर्कोतिर शव घरसम्म ल्याउन र घाइतेको उपचार गर्न मोटो रकम आवश्यक परेको छ। पीडित परिवारको आर्थिक अवस्था कमजोर भएकाले शव ल्याउन र घाइतेको उपचारका लागि समस्या भएको हो।
यही समस्यालाई मध्यनजर गर्दै गाउँमा ‘सहयोग सङ्कलन अभियान’ सुरु गरिएको स्थानीय प्रकाश बञ्जराले जानकारी दिएका छन्। ‘उहाँहरू ऋणधन गरेर मेघालय त पुग्नुभयो, तर अब शव कसरी ल्याउने भन्ने चिन्ता छ’, बञ्जराले भने।
उक्त विस्फोटमा परी खोटाङको वरापोखरी गाउँपालिका-१ का एकै घरका दाजुभाइ २७ वर्षीय पूर्णिराम र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर तथा ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको थियो।
घटनामा अन्य तीन जना गम्भीर घाइते छन्, जसको मेघालयमै उपचार भइरहेको छ। घाइतेको उपचार खर्च जुटाउन पनि परिवारलाई धौ-धौ परेको छ।
माघ २६, २०८२ सोमबार ०८:०१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।