६५ हजारले अवलोकन गरे एघारौं ‘नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’

६५ हजारले अवलोकन गरे एघारौं ‘नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’

काठमाडौं : नेपालको निर्माण क्षेत्रको विकास र प्रवर्धनमा केन्द्रित ‘नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौं संस्करण आइतबार सम्पन्न भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा माघ २२ गतेदेखि सुरु भएको यो चार दिने प्रदर्शनीमा उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार प्रदर्शनी अवधिभर ६५ हजारभन्दा बढी अवलोकनकर्ताहरूले भ्रमण गरेका छन्।

प्रदर्शनीमा तीन सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहेको थियो। दुई सयभन्दा बढी स्टलहरू मार्फत निर्माण उद्योगका नवीनतम प्रविधि, सेवा तथा सामग्रीहरू एकै छानामुनि प्रदर्शन गरिएको थियो।

विगत एक दशकदेखि मिडिया स्पेस सोलुसन्स प्रा. लि. र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा. लि. को संयुक्त आयोजनामा यो मेला हुँदै आएको छ।

आयोजकका अनुसार यस प्रदर्शनीले नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

मेलामा घर तथा भवन निर्माणसँग सम्बन्धित सम्पूर्ण सामग्रीहरू राखिएका थिए। जसमा मुख्यतया आर्किटेक्चरल हार्डवेयर, एल्मुमिनियम एक्स्टुजन, मार्बल, टाइल्स, सेनेटरी वेयर, मोड्युलर किचन, रुफिङ, क्ल्याडिङ पर्छन्।

यसका अलावा प्रदर्शनीमा लिफ्ट, एलिभेटर, एस्केलेटर, झ्याल-ढोका, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिंग, पाइप तथा प्लम्बिङ सामग्री, कन्स्ट्रक्सन केमिकल, पीभीसी/यूपीभीसी प्रोफाइल तथा  ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिल पनि राखिएका थिए।

निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, इन्जिनियर, आर्किटेक्ट, डिजाइनर तथा घर बनाउने योजनामा रहेका सर्वसाधारणका लागि यो प्रदर्शनी अत्यन्त उपयोगी भएको जनाइएको छ।

माघ २६, २०८२ सोमबार ०७:४०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।