फिल्मको काम नसकाउँदै ढलेका तीन नेपाली फिल्मकर्मी
काठमाडौं : पछिल्लो एक महिनाको अवधिमा नेपाली फिल्म क्षेत्रमा नसोचेको घटना भइरहेका छन्। एक महिनामा नेपाली फिल्म क्षेत्रले तीन व्यक्ति गुमायो त्यो पनि अकस्मात्। पुस २७ गते अभिनेता तथा गायक प्रशान्त तामाङको निधन भयो। यो बिचमा फिल्म पत्रकार दिनेश सिटौला अनि अभिनेता सुनिल थापाको पनि मृत्यु भयो।
यी तीनै जनाको मृत्यु स्वाभाविक थिएन, तीनै जना अमस्मात रूपमा बिलाए। भारतको मुम्बईमा रहेका प्रशान्त असहज भयो भनेर अस्पताल पुग्दा बिते। कारण देखियो हृदयाघात। ४३ वर्षको उमेरमा मृत्यु भएका अभिनेता तामाङको घटना सेलाउन नपाउँदै नेपाली फिल्म क्षेत्रले अर्को अभिनेता ‘राते काइँला’बाट परिचित सुनिल थापा पनि ह्दयघातबाटै बिलाए। माघ २४ मा नर्भिक अस्पतालमा उनको मृत्यु भयो।
शुक्रवार फिल्म छायाङ्कनको काम सक्काएर अबेर आफ्नो अपार्टमेन्टमा सुतेका सुनिलले शनिबारको घाम देख्न पाएनन्। बिहान साँढे ६ बजे उनका सहयोगीले फिल्म ‘राम नाम सत्य’का लागि उठाउन जाँदा उनको अवस्था नाजुक थियो। नर्भिक हस्पिटल पुर्याएको एक घण्टापछि चिकित्सकले उनको मृत्युको घोषणा गरे।
इन्डियन आइडलबाट उदाएका नेपाली मूलका भारतीय प्रशान्त नेपाली फिल्ममा अभिनेताका रूपमा उदाए। सुनिल भने खल पात्रमा जमेका कलाकार थिए। केही फिल्ममा खलनायकको भूमिकामा अभिनय गरेका चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष दिनेशको पनि अपत्यारिलो तरिकाले मृत्यु भयो।
खलनायक लगायत केही फिल्ममा अभिनय गरेका दिनेश टेलिभिजनको पर्दा हुँदै पछिल्लो समय फिल्म प्रवर्धन संयोजनमा सक्रिय थिए। आफूलाई कलाकारिता भन्दा पनि पत्रकारिताको माध्यममा भिजाएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा अछाम पुगेको बेलामा ढले।
गत शुक्रवार अछाममा बेहोस भएका उनलाई हेलिलिफ्ट गराएर उपचारका लागि काठमाडौं ल्याए पनि उनी फर्किएनन्। उतै अछाममा बेहोस भएका उनको होस खुलेन। मृत्यु कारण ब्रेनस्ट्रोक देखियो। उनी पछिल्लो फिल्म ‘श्री बुकुरो’को कोडिनेटरका रूपमा सक्रिय थिए। यो फिल्म फागुन १ गतेबाट प्रदर्शनमा आउदैछ।
अभिनेता सुनिल नेपाली फिल्मको राते काइँलाका रूपमा परिचित खलनायक थिए। उनको पहिलो नेपाली फिल्म ‘सिमाना’ भनिन्छ। उनले पहिलो फिल्म‘सिमाना’,‘मुगलान’,चिनो’ ‘दक्षिणा’, ‘कोसेली’, ‘धर्मा, ‘भैरव, ‘खलनायक’, ‘मैझारो’ लगायतमा अभिनय गरे।
खलनायक भूमिकामा बेग्लै छाप बनाएका थापा माइकल चन्द निर्देशित फिल्म ‘राम नाम सत्य’को सुटिङमा व्यस्त थिए। एक साता यता फिल्म ‘राम नाम सत्य’मा व्यस्त रहेका उनी फिल्मको कथामा मृत्युपछि जल्नु पर्ने दृश्य खिच्न बाँकी थियो। तर पर्दामा जल्ने दृश्यको सर्ट दिन उनी आफै रहेनन्। वास्तविक जीवनमै आइतबार पशुपति आर्यघाटमा उनको देह जलाइयो।
नेपाली फिल्म क्षेत्रसँगै उनी भारतीय फिल्म क्षेत्र बलिउडमा पनि त्यतिकै चर्चामा रहे। दस वर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ र चार वर्षअघि ‘लक्ष्मी’नाम फिल्ममा अभिनय गरेका उनले केही सिरिजमा पनि अभिनय गरेका थिए।
मेरिकोममा बलिउडकी चर्चित अभिनेत्री प्रियङ्का चोपडाको कोचको भूमिकामा देखिएका उनको निधनमा प्रियङ्काले आफूले आफ्नो कोच गुमाएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेकी थिइन्। मनोज वाजपेयी लगायतका कलाकारहरूले समेत थापालाई सम्झिए।
नेपाली मूलका भारतीय नागरिक प्रशान्त इन्डियन आइडल सिजन ३ जितेपछि चर्चामा आएका थिए। नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’बाट अभिनेताका रूपमा नेपालमा डेब्यु गरेका उनले पछिल्लो समय उनै निर्देशक रायमाझीको निर्देशनमा बनेको फिल्म ‘परदेशी २’मा अभिनय गरेका थिए।
‘अँगालो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’ र परदेशी-२ मा अभिनय गरेका थिए उनले। उनको पछिल्लो नेपाली फिल्म भने ‘पहिचान’हो। जुन फिल्म गत महिना प्रदर्शनमा आएको थियो।
नेपाली फिल्मका अलावा भारतीय फिल्ममा समेत उनले अभिनय गरेका छन्। सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘ब्याटल अफ गलवान’मा प्रशान्तले काम गरेका छन्। उनको यो बलिउड डेब्यू फिल्म हो। भारतीय मिडियाका अनुसार उनको यो फिल्मको छायाङ्कन सकिएको र डबिङको बाँकी छ।
माघ २५, २०८२ आइतबार २०:५०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।