फेक रेस्क्यु केसमा श्रीद्धि इन्टरनेसनल हस्पिटलको सञ्चालक पक्राउ
काठमाडौं : नेपालको पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा विदेशी पर्यटकलाई नक्कली उद्धार (फेक रेस्क्यू) गरी करोडौँ डलर ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा श्रीद्धि इन्टरनेसनल हस्पिटलको सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना रहेको सिआइबीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले उकेरालाई जानकारी दिए।
'थप एक जना पक्राउ गरेका छौ। उनी हस्पिटलको सञ्चालक हुन्" उनले भने। सिआइबीले गत माग ११ गते विभिन्न ट्राभल कम्पनीका ६ जना सञ्चालकलाई पक्राउ गरिसकेको छ। सीआईबीले पर्यटकीय क्षेत्रमा हुने गरेको गम्भीर ठगी र सङ्गठित अपराधबारे साढे दुई महिना लामो अनुसन्धान गरेको थियो।
सीआईबीले माउन्टेन रेस्क्यू सर्भिसका जयराम रिमाल र विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी र विवेकराज थपलिया तथा एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी यस अघि नै पक्राउ परेका हुन् भने तिमल्सिनालाई आज पक्राउ परेका हुन्।
कसरी हुन्थ्यो ठगी ?
सीआईबीको अनुसन्धानले तीन वटा कम्पनीले अस्वाभाविक रूपमा 'फेक रेस्क्यू' देखाएर बीमा दाबी गर्ने गरेको थिए भने यसमा अस्पतालको समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धान बाट खुलेको थियो। सिआइबिले सार्वजनिक विवरण अनुसार माउन्टेन रेस्क्यू सर्भिसले कुल १,२४८ जनाको उद्धार देखाएकोमा १७१ जनाको 'फेक रेस्क्यू' गरेको पुष्टि भएको छ। यसबापत उसले १ करोड अमेरिकी डलरभन्दा बढीको बीमा दाबी गरेको पाइएको छ।
नेपाल चार्टर सर्भिस प्रालिले ४ सय ७१ जनाको उद्धार गरेकोमा ७५ जनाको फेक रेस्क्यू गरी ८२ लाख डलर माग दाबी गरेको खुलेको छ। एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ जना पर्यटकको शंकास्पद उद्धार गरी ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको थियो। जसमा अस्पतालले नक्कली बिल बनाएर बिमा रकम असुल्ने गरेका थिए।
माघ २५, २०८२ आइतबार १७:४६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।