चुनावबारे अभिनेता राजेश हमाल 'व्यक्तिलाई हैन एजेण्डा, योजना र दृष्टिकोण हेरेर मतदान'

चुनावबारे अभिनेता राजेश हमाल 'व्यक्तिलाई हैन एजेण्डा, योजना र दृष्टिकोण हेरेर मतदान'

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै कलाकर्मीको राजनीतिक सक्रियता बढेको छ। यस पटक चुनावी प्रतिस्पर्धामा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको उपस्थिति पनि उल्लेख्य देखिन्छ। 

अभिनेत्री नीशा अधिकारी प्रत्यक्षतर्फ तथा प्रकाश सपुत, रिमा विश्वकर्मा र लक्ष्मी बर्देवा लगायतका कलाकार समानुपातिक उम्मेदवार छन्। फिल्मकर्मीहरूको प्रत्यक्ष राजनीतिक संलग्नताले चुनावी माहोल अझ चासो र चर्चाको विषय बन्छ।

कलाकारहरूको राजनीतिक सक्रियताका बीच आम मानिस र सञ्चारकर्मीहरूको चासो अभिनेता राजेश हमालतिर हुने गर्छ। हमालको सम्भावित राजनीतिक यात्रालाई लिएर लामो समयदेखि विभिन्न अड्कलवाजी र चर्चा चल्ने गरे पनि उनले अहिलेसम्म दलगत राजनीतिमा सक्रिय हुने विषयमा स्पष्ट धारणा राखेका छैनन्।

फिल्म ‘प्रवासी जीवन’को प्रचारप्रसारका क्रममा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूले वर्तमान राजनीति अवस्थाबारे हमालको धारणा बुझ्न खोजे। विशेषगरी राजनीतिक रोजाइ र मतदानको विषयमा उनलाई प्रश्नहरूको घेरामा पारियो।

जवाफमा हमालले उम्मेदवारलाई मतदान गर्नुअघि आफूले उनीहरूको ‘एजेन्डा’ र ‘रोडम्याप’ हेर्ने स्पष्ट पारे। दलहरूबीच बढ्दो आरोप-प्रत्यारोप र विशेषगरी एक अर्कालाई गाली गरेर मत माग्ने शैलीप्रति उनले असन्तुष्टि व्यक्त गरे। उनले आफ्नो एक भोट नयाँ पुरानाभन्दा पनि योजनासहितको व्यक्तिलाई दिने धारण राखे।

हमाल भन्छन्, "मेरो जिज्ञासा र प्रश्न एउटै छ, जो जो इलेक्सनमा उठ्नु भएको छ। उहाँहरूले हामी नेपाली जनतालाई स्पष्ट पारिदिनु दिनु पर्यो कि, विगतमा जति कुराहरू भए। राष्ट्रका अहम अहम मुद्दाहरू गलत तरिकाले चाहिँ त्यसलाई ट्रयाकल भयो। सही तरिकाले कसरी जानुहुन्छ, त्यसलाई बताइदिनुहोस् न त? भ्रष्टाचारको कुरा उठिरहेको छ। भ्रष्टाचारलाई कसरी न्यूनीकरण गर्नु हुन्छ?"

आम नेपालीका लागि चाहिएको शिक्षा, स्वास्थ्य रोजगारको विषयमा पनि कुरा उनले उठाए। उम्मेदवारहरूले आफ्नो योजना अनुसार कुन काम कति समयमा कसरी गर्ने भन्ने विषयमा मतदातालाई बुझाउन पर्ने उनको भनाई छ।

"शिक्षा स्वास्थ्य,रोजगारको लागि कसरी यहाँहरूको योजना छ। यो होइन कि रातारात परिवर्तन हुनुपर्छ," उनले प्रश्नका साथ भन्छन्, "शिक्षा सबैको पहुँचमा पुर्याउन पहिलो खुट्किलो कसरी चाल्नुहुन्छ?स्वास्थ्य सबैको पहुँचमा पुर्याउन पहिलो खुट्किलो कसरी चाल्नु हुन्छ?रोजगारीको समस्या छ। त्यसलाई कसरी बिस्तारै बिस्तारै न्यूनीकरण गरेर हल गर्नुहुन्छ?"

रोजगारीका लागि विदेशिन बाध्य नेपाली श्रमिकहरूलाई देशमा रोक्ने योजना अहिलेको मुख्य आवश्यकता रहेको हमालले बताए। उनले थपे, "एयरपोर्टमा विदेशिने जुन भिड छ, त्यसलाई खाली गर्ने भनेको होइन, क्रमबद्ध रूपमा कसरी घटाउनुहुन्छ? के छ त योजनाहरू सुनौ न? त्यो मुद्दाहरू सुन्ने हो।"

आरोप प्रत्यारोपको राजनीतिभन्दा समस्याहरूको पहिचान र त्यसको समाधानका विषयमा आफ्ना योजना ल्याउनुपर्ने उनको भनाई छ।  हमालले भने, "खाली उसले गरेन हामीले गर्यौ,या उसले गरेन त्यस कारण हामीले गर्छौ भनेर मात्रै भएन। के गर्छौ त? यी अहम मुद्दाहरूलाई चाहिँ सही मार्गमा कसरी ल्याउँछौं?"

चुनावमा व्यक्तिलाई नभई उसले बोक्ने एजेण्डा, योजना र दृष्टिकोणलाई मतदान गरिने उनको भनाई छ। हमाल भन्छन्, "यस्तो यस्तो कुराहरू आउनु पर्यो नि। यस्तो कुरा आयो भने न हामीले आश्वासन पाएर यो व्यक्तिलाई भोट दिन सक्छौँ।"

उनी अभिनीत पछिल्लो फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनको तयारीमा छ। यसअघि उनको फिल्म ‘नरसिंहा : अवतार’ प्रदर्शनमा आएको थियो। जसले बक्स अफिसमा अपेक्षित सफलता प्राप्त गर्न सकेन। 

माघ २५, २०८२ आइतबार १५:३८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।