'कसलाई मत दिनुहुन्छ?' भनी सोध्नु निर्वाचन आचारसंहिता विपरीत, मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह
काठमाडौं : निर्वाचन आचारसंहिता विपरीत सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यममार्फत 'मतदाताको गोपनीयता' भङ्ग गर्ने गतिविधि बढेपछि जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आपत्ति जनाएको छ।
निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै निर्वाचन कार्यालयले सर्वसाधारणलाई 'कसलाई मत दिनुहुन्छ ?' भनी सोधेर मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गर्यो।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य गरेको पाइएकाले त्यस्ता कार्यहरू नगर्न/नगराउन अनुरोध गर्दै त्यस्ता कार्य नरोकिए प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था छ। त्यसमा जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ।
आचारसंहिताको यो व्यवस्था पूर्ण पालना गर्नका लागि पटकपटक छलफल, अन्तर्क्रिया र सूचना प्रकाशन गरी जानकारी गराइसकिएको भए तापनि कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारले उक्त व्यवस्थाको उल्लङ्घन गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्धारित समय अगावै कोणसभा गर्ने, प्रचारप्रसार गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएकाले त्यस्तो कार्य नगर्न/नगराउन निर्वाचन कार्यालयले ध्यानाकर्षण गराएको छ।
कोही कसैबाट आचारसंहिताको उल्लङ्घन गरी कुनै पनि तरिकाले प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले सूचित गरेको छ। आचारसंहिता अनुगमन अधिकृतहरूले संयुक्त रूपमा निर्वाचन आचारसंहिताको सम्पूर्ण पक्षका बारेमा ध्यानाकर्षण गराएका छन्।
माघ २५, २०८२ आइतबार ०८:०९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।