भदौको घटनामा 'पन्छिने र लाभ लिने' दुई प्रवृत्ति हाबी भयो : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारी लिनुको साटो त्यसलाई अस्वीकार गर्ने प्रवृत्ति देखिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको एक भेलालाई सम्बोधन गर्दै उनले जिम्मेवारी लिने आँट नभएकाहरूले घटनालाई 'षड्यन्त्र' वा 'चलखेल' भनेर पन्छाउन खोजेको तर्क गरे। थापाले आन्दोलनको फाइदा उठाउने र परिस्थिति भड्काउने प्रवृत्तिप्रति पनि सचेत गराए।
उनले भने, "भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा परेको छ। भदौ २३, २४ मा केही भएकै होइन भन्ने मानसिकताको विकास गरिएको छ। किनभने त्यो सत्य भएको कुरा स्वीकार गरियो भने जिम्मेवारी लिनुपर्छ। जिम्मेवारी लिन आँट चाहिन्छ, त्यसैले त्यो होइन, त्यो षडयन्त्र हो, त्यसमा चलखेल छ, अरू कसैले गराइ दिएको हो भन्ने प्रवृत्ति छ।"
थापाले अगाडि थपे, "अर्को प्रवृत्ति पनि आएको छ झन् घातक। त्यो भनेको आन्दोलनमा बलेको आगोमा तेल हालेर त्यसमा जे-जे सेक्न सकिन्छ, सेक्ने र फाइदा लिइहाल्ने भन्ने छ। त्यसलाई भड्काउने, उचाल्ने र त्यसबाट लाभ लिने, त्यो लाभ पनि आफ्नो लागि मात्र भएको हो भन्ने प्रवृत्ति अगाडि आएको छ। तर नेपाली कांग्रेसभित्र यस्तो प्रवृत्ति छैन।"
भदौ २३ र २४ को घटनापछि मुलुकको राजनीतिक अवस्था बदलिएको उल्लेख गर्दै उनले त्यसले सरकार, संसद् र जनधनमा समेत प्रभाव पारेको बताए। उनले २०८४ सालको नियमित निर्वाचनको पर्खाइमा रहेको अवस्थामा विकसित दुई अकल्पनीय घटनाक्रमले मुलुकको राजनीतिक मार्गचित्र बदलेको पनि उल्लेख गरे।
उनले भने, "फागुन २१ गतेको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ। निर्वाचन तपाई हामीले खोजेर ल्याएको निर्वाचन होइन, यसले हामीलाई खोज्दै आएको हो। हामी त ०८४ साल मंसिरको निर्वाचन हुन्छ भनेर बसेका थियौं। कसैले पनि कल्पना नगरेको दुई वटा घटनाहरू भए। त्यसले धेरै कुरा तलमाथि गरेको छ। सरकार र संसद् गयो थुप्रै जीवनहरू गए, भवनहरू गए। यसले हामी सबैलाई एउटा नयाँ ठाउँमा ल्याएको छ।"
थापाले कांग्रेस केही ठोस प्रतिबद्धताका साथ अघि बढेको चर्चा गर्दै सिद्धान्त र प्रतिबद्धतामा सम्झौता गर्नुपर्ने अवस्था आए पार्टीका लागि सरकार प्राथमिकताको विषय नहुने समेत प्रस्ट पारे।
माघ २४, २०८२ शनिबार १८:४७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।