निर्वाचनले चलायमान बनायो स्थानीय बजार : व्यवसायी भन्छन्- ‘एक महिना व्यस्तता बढ्नेछ’
महोत्तरी : निर्वाचन केन्द्रित प्रशासनिक र राजनीतिक गतिविधि बढेसँगै महोत्तरीमा स्थानीय व्यापारिक क्षेत्र चलायमान भएको छ। निर्वाचन अधिकृतका कार्यालय र दलका सम्पर्क कार्यालयहरू सञ्चालनमा आएसँगै जिल्लाका व्यापारिक केन्द्रहरूमा आर्थिक गतिविधिमा पनि बढोत्तरी देखियो।
खासगरी होटल व्यवसायी यसबाट लाभान्वित छन्। राजनीतिक दल र तिनका उम्मेदवारका साथै कार्यकर्ताको सघन उपस्थितिले आगामी एक महिनासम्म राम्रो व्यापार व्यवसाय हुनेमा होटल व्यवसायी आशावादी छन्।
“निर्वाचन चहलपहले हाम्रो व्यस्तता बढेको छ,” बर्दिबासका होटल सञ्चालक तथा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरे भन्छन्, “अबको एक महिना हाम्रो व्यवसाय जम्ने ठानेका छौं।”
जिल्लाका सबै भेगका बजारमा होटल व्यवसाय राम्रो चलेका उनको भनाइ छ। प्रतिनिधिसभा क्षेत्र-१ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै बढेको छ।
बर्दिबासचोक वरपर १० वटा दलले निर्वाचन परिचालन कार्यालय सञ्चालनमा ल्याएका छन्। यी कार्यालय सञ्चालनमा आएलगत्तै बजार चहलपहल ह्वात्तै बढेको बर्दिबासकै अर्का होटल व्यवसायी विमल भण्डारी बताउँछन्।
जिल्लाका चार वटा निर्वाचन क्षेत्रका सबैजसो केन्द्र (निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका ठाउँ) बजार क्षेत्रमै छन्। क्षेत्र नम्बर-१ को बर्दिबास, २ को बलवा, ३ को जलेश्वर र चारको रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय छ।
अहिले यी ठाउँ मात्र नभएर मटिहानी, पिपरा, मनरा, सम्सी, गौशाला, सीतापुर, लोहारपट्टी, औरही, खयरमारा, सरपल्लो, रौजासहितका बजार क्षेत्रका होटल ग्राहकले खचाखच देखिन्छन्। यी ठाउँमा दल र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताको जमघट बढेसँगै बजारु चहलपहलमा वृद्धि भएको रौजाबजारका सामाजिक कार्यकर्ता मन्सुल कवारीको भनाइ छ।
चुनावी चहलपहलले होटलमात्र नभएर अन्य व्यापार व्यवसाय पनि चलायमान भएको व्यापारी बताउँछन्। “अहिले चुनावले बजारमा चहलपहल बढेको छ,” सीतापुर बजारका कपडा व्यापारी सहवुल अन्सारी भन्छन्, “व्यापारीलाई राहत मिलेको छ।”
बजारमा चहलपहल बढेको छ। यससँगै झण्डा, ब्यानर, पर्चा र पम्प्लेटका लागि कपडा पसल, पेन्टर र प्रेसमा चुनावी प्रयोजनका ग्राहक बढ्दै गएका गौशाला बजारका अजय साहको भनाइ छ। निर्वाचन जनजन र घरघर परिचालित हुने ‘महापर्व’जस्तै हो।
आगामी फागुन ३ गतेपछि चुनावी प्रचार औपचारिकरुपमा सुरु भएपछि चहलपहल झन् बढ्ने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीको भनाइ छ।
माघ २४, २०८२ शनिबार १६:४१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।