इरानसँग व्यापार गर्ने देशहरूलाई अतिरिक्त कर लगाउने ट्रम्पको चेतावनी

इरानसँग व्यापार गर्ने देशहरूलाई अतिरिक्त कर लगाउने ट्रम्पको चेतावनी

एजेनसी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निरन्तर इरानसँग व्यापार राख्ने देशहरूमाथि अतिरिक्त भन्सार शुल्क (ट्यारिफ)  लगाउने चेतावनीसहित एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

शुक्रबार जारी गरिएको उक्त आदेशमा स्पष्ट रूपमा कति प्रतिशत कर लगाइने भन्ने उल्लेख नगरिएको भएपनि २५ प्रतिशतसम्म ट्यारिफ लगाउन सकिने संकेत गरिएको छ।

उक्त आदेशमा, इरानबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि वस्तु वा सेवा खरिद, आयात वा प्राप्त गर्ने देशहरूबाट अमेरिका आयात हुने वस्तुहरूमा उक्त कर लागू हुन सक्ने उल्लेख छ।

राष्ट्रपति ट्रम्पले यस विषयमा प्रत्यक्ष टिप्पणी नगरे पनि शुक्रबार राति एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै इरानले ‘कुनै पनि हालतमा आणविक हतियार बनाउन नपाउने’ दोहोर्याए।

यो निर्णय अमेरिका र इरानबीच ओमानमा वरिष्ठ अधिकारीस्तरको वार्ता जारी रहँदा आएको हो। पछिल्ला केही हप्तायता दुवै देशबीच कडा चेतावनी र बयानबाजी हुँदै आएको छ।

यसअघि ट्रम्पले यसै वर्षको जनवरी १२ मा सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानसँग व्यापार गर्ने देशहरूमाथि २५ प्रतिशत ट्यारिफ लगाइने चेतावनी दिएका थिए।

माघ २४, २०८२ शनिबार १६:५५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।