इस्लामावाद आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ३३ पुग्यो, आक्रमणकारीको पहिचान खुल्यो
एजेन्सी : पाकिस्तानको राजधानी इस्लामावादस्थित एक इमामबारगाहमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा ज्यान गुमाउनेको संख्या शनिबार ३३ पुगेको छ।
पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका प्रवक्ता डा. अनइजा जलिलका अनुसार उपचारका क्रममा २१ वर्षीय एक युवकको मृत्यु भएपछि मृतकको संख्या बढेको हो। अस्पतालमा उपचाररत घाइतेमध्ये अझै ९ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ।
शुक्रबारको प्रार्थनाको समयमा शहरको बाहिरी इलाकामा रहेको ¡इमामबारगाह कसर-ए-खदिजातुल कुब्रा’मा यो विष्फोट भएको थियो। प्रत्यक्षदर्शी इमरान महमुदका अनुसार आक्रमणकारी र सुरक्षामा खटिएका स्वयंसेवकहरूबीच गोली हानाहान भएको थियो।
एक स्वयंसेवकले आक्रमणकारीको खुट्टामा गोली हानेपछि उनले आफूसँग रहेको विस्फोटक पदार्थ विष्फोट गराएका थिए। यो आक्रमण सन् २००८ मा मेरियट होटलमा भएको ट्रक बम विष्फोटपछिको इस्लामावादकै सबैभन्दा घातक आक्रमण हो।
अनुसन्धान अधिकारीहरूले विष्फोटस्थलमा फेला परेको टाउकोको आधारमा नाड्रा डाटाबेस प्रयोग गरी आक्रमणकारीको पहिचान खुलाएका छन्। आक्रमणकारी पेशावरको बासिन्दा रहेको खुलेको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार उनी प्रतिबन्धित लडाकु समूह ‘आइएस’सँग आबद्ध थिए र उनले पटक-पटक अफगानिस्तानको भ्रमण गरेको पाइएको छ। प्रहरीले आक्रमणकारीका केही आफन्तहरूलाई नौशेराबाट नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज र जियो-फेन्सिङ मार्फत थप प्रमाणहरू संकलन गरिरहेको छ। खैबर पख्तुनख्वाका एक वरिष्ठ प्रहरी अधिकारीले अनुसन्धानमा उल्लेख्य प्रगति भइरहेको र छिट्टै थप तथ्यहरू बाहिर आउने बताएका छन्।
शनिबार विष्फोटमा ज्यान गुमाएका केही व्यक्तिको अन्त्येष्टि गरिएको छ। घटनापछि इस्लामावाद र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पीडित परिवार र स्थानीय बासिन्दाले आक्रमणको निन्दा गर्दै सुरक्षाको माग गरेका छन्।
माघ २४, २०८२ शनिबार १३:१४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।