गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट, मतदाताले उम्मेदवारसँग मागे स्पष्ट एजेन्डा र प्रतिबद्धता
बागलुङ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि घरघरमा मत माग्न आउने उम्मेदवारलाई बागलुङका जनताले एजेण्डा र प्रतिबद्धता माग्न थालेका छन्।
पटकपटक आश्वासन मात्रै पाएका मतदाताले उम्मेदवारसँग यसपाली एजेन्डा र प्रतिबद्धता माग्न थालेका हुन्।
काठेखोला गाउँपालिका-६ का कृष्णप्रसाद सापकोटाले किसानको उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाउन सक्ने नेतालाई भोट दिने बताए। हरेक वर्ष दशौँ लाखको तरकारी र फलफूल उत्पादन गर्न भए पनि बजारको अभावमा उचित मूल्य पाउन नसकेको उनको गुनासो छ।
आफू विसं २०४८ देखि निरन्तर मतदानमा सहभागी हुँदै आएको सुनाउँदै अहिलेसम्म किसानका माग पूरा गर्ने नेता पाउन नसकेको कँडेलले बताए।
कँडेलले भने, ‘पहिले-पहिले घरको काम छोडेर नेतालाई जिताउनुपर्छ भनेर हिँडियो, उनीहरूले चुनाव जितेर सांसद मन्त्री भए, हाम्रो समस्या जहाँको त्यही रहे, अहिले त किसानका काम गर्छु भन्नेलाई मात्रै मत दिने हो, पहिलेको जस्तो झुटा कुरा पत्याएर पछि हिँड्न छोडियो, हाम्रा समस्या धेरै छन्, समयमा बीउ, मल पाइँदैन, उत्पादन गरेको वस्तुले मूल्य पाउँदैनन्।’
बरेङ गाउँपालिका- १ का तमबहादुर थापाले गाउँको बसाइसराइ रोकेर उद्यमसँग जोड्न सक्ने उम्मेदवारलाई जिताउनु पर्ने बताए। बसाइसराइले हरेक वर्ष गाउँबाट बजार झर्नेको संख्या बढ्दै गएको तर यसलाई रोक्न कुनै नेताको ध्यान नगएको उनको भनाइ छ।
गाउँमै कृषि, उद्यम गर्छ भन्ने किसान र युवालाई प्रोत्साहन नहुँदा विदेश पलायन र बसाइसराइ हुने गरेको थापा बत्ताउँछन्।
‘हामी गाउँका किसानले नेताबाट ठुलो अपेक्षा छैन, हामीहरूलाई गाउँमै बस्ने र उद्यम गर्ने वातावरण मिलाइ दिए हुन्छ, काम गरेर जीविका चलाउने कर्तव्य हाम्रो हो’, थापाले भने, ‘अघिल्लो चुनावहरूमा नेताको चिल्ला कुरा धेरै सुनियो, अब हामीहरूलाई प्रतिबद्धता चाहिन्छ, हामी गाउँमै बस्न चाहन्छौँ, यहीँ केही गर्न चाहन्छौँ, त्यो वातावरण तयार बनाइदिने नेताको खाँचो छ।’
बागलुङमा सबैभन्दा बढी बसाइसराइ हुने पालिका जैमिनी हो। जैमिनीबाट हरेक वर्ष बसाइसराइ गर्नेको सङ्ख्या ठुलो छ।
गाउँमा लघु उद्यम, कृषि र राम्रो शिक्षाको सुविधा दिलाउन सक्ने उम्मेदवारलाई भोट दिने स्थानीय तोषिका विकले बताए। हुने खानेहरू सबै बजार झरिसकेको सुनाउँदै अहिले गाउँमा सामान्य परिवार मात्रै रहेको उनको भनाइ छ।
माघ २४, २०८२ शनिबार १२:१०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।