'गेट वेल सून' चौतारा अस्पताल
ट्वाङ्गङङङङ! स्थानीय समयानुसार रातको १२:४५ बजे फोनको नोटिफिकेसन बज्यो। फेसबुक मेसेन्जरमा जहानले मेसेज ठेलिछन्, जसको ब्यहोरा तल उल्लेख छ–
'छोरो पेट दुख्यो भनेर रोएर हस्पिटल लगेर आएको। सिटामोल मात्र दियो। हैरान मात्र राति।'
विगत तीन–चार वर्षदेखि मेरो एउटा नराम्रो आदत बसेको छ। साँझ ८ बजे (नेपालको समयानुसार रातको १०:४५) पछाडि म कसैको फोन उठाउँदिनँ। इष्ट, आफ्ना, घर, कार्यालय सबैतिर 'अर्जेन्ट हुँदा मेसेज गर्नु' भनेको छु।
जहाँ जुन सर्कलमा म जीवितै छु, मान्छन् बिचरा! 'भात खायौ, अनि अरू के छ, अलि गाह्रो परेको थियो पाँच–दश छ त, एउटा कविता पठाउनु न हाम्रोमा' भन्ने ब्यहोराका टेलिफोनहरू बिरलै आउँछन् आजकल। मानिसहरू अत्यावश्यक पर्दा सिधै फोन गर्छन्। मेरोमा मेसेज आउँछ।
सेलफोनको भाइब्रेटमिश्रित ५५ सेकेन्डको रिङ्टोनलाई बाल नदिने तर एक निमेषको मेसेज नोटिफिकेसनले चिर निद्राबाट ब्युँझने मेरो पछिल्लो आदत बनेको छ।
अर्धहोसमा आँखा मिच्दै जहानको उक्त मेसेज दोहोर्याएर पढेँ। दुइटा शब्दले म पूर्णतः ब्युँझिएँ। एउटा 'रोएर' अर्को 'सिटामोल'। मैले ठुलो मान्छे रोएको बिरलै देखेको छु। आमा खस्नुभन्दा अघिसम्म बा रोएको कहिल्यै देखिनँ। राजा रोएको, भगवान् रोएको अहँ देखेको छैन मैले। बरु आफैँ रोएको हुँदो हुँ धेरै पटक।
सराबी दिनहरूमा दारु हान्न जानुलाई 'रुन जाने' भन्थ्यौँ हामी। घाम भिरकुनाबाट उँभो लागेपछि 'रुने बेला भइगयो' भन्थ्यौँ। सकुशल ल्यान्ड हुनेमा ढुक्क भएको प्रेम हाइज्याक हुँदा एकखेप बहुत रोएको छु उबेला। आफ्नै कविताका 'पन्च लाइन' सुनेर एकाध पटक उसै उसै रोइयो जिन्दगीका ल्याङफ्याङ कालखण्डमा। राजेश हमाललाई सुनिल थापासहित सत्र जना गुन्डाले कुट्दा रोएको त के हिसाब गर्नु!
आखिर छोरो मान्छे किन रुन्छ ? किन भक्कानिन्छ मान्छे ? मानिसहरू रक्सी खाएपछि किन रुन्छन्, किन अंग्रेजी बोल्छन् ? जानकारहरूका विभिन्न अध्ययनहरूले विभिन्न निचोड निकालेका छन्। ती सबै निचोडलाई साइड लगाइदिऊँ यतिखेर। मेरो एउटै निचोड छ– नदुखी मानिस रुँदैन। दुखाइको स्खलन आँसु हो। समय बदलिनु भनेको केवल समय बदलिनु मात्र होइन रहेछ। समय बदलिनु भनेको त मानिस पनि बदलिनु रहेछ।
रुने विषय बदलिनु रहेछ, बाटो बदलिनु, गन्तव्य बदलिनु रहेछ। जीवनका ऊर्जाशील साढे दुई दशक जति आयुलाई 'हल्का' लिएछु मैले। सधैँको फुक्काफाल फकिर जीवन बाँचेछु। अहिले सोच्दा लाग्छ– ज्या ! सिरियसनेसको कुनै गुन्जाइस थिएनछ चिप्लिसकेको त्यो जिन्दगीमा।
ब्याक टु बेस
जहानको फेसबुक मेसेज नोटिफिकेसनले हठात् ब्युँझेपछि फोन गरेर सोधेँ– के भो ? मेरो मिजास अलि ठाडो छ सायद। जुन परिस्थितिमा पनि मेरो ठाडो मिजासको प्रश्न हुन्छ– के भो ? साँझ नौ बजेतिर मटनको झोलसँग खाना खाएर सामान्य सुतेको फकिर पुत्र रदिफ साढे दश बजेको आसपासमा खस्याकखुसुक गर्न थाल्यो। यताउति कोल्टे फेर्न थाल्यो। यो क्रम यत्तिकै रोकिएन, फकिर पुत्र मडारिन थाल्यो, मानौँ उसको जिउमा हजारौँ कमिलाले एकैसाथ चिले। आमाचाहिँ आत्तिइन्। आमाहरूलाई आत्तिन कसैले सिकाउनु पर्दैन। 'आमाचाहिँले' सोधिछन्–के भो ? पुत्र सासले मात्र बोल्छ–'पेट दुख्यो।'
उनले तुरुन्तै लख काटिन्– आज पनि खसीको झोलले बिगाऱ्यो। उसको पुत्रलाई खसीको मासुले निको गर्दैन। ८ वर्षीय उसको पुत्रले आजसम्म खसीको मासु ८ फिर्को पनि निलेको छैन। कुखुराको मासु कहिलेकाहीँ खाई टोपल्छ, खसी बन्नै। अस्ति दसैँमा त्यसका बाउले १५ धार्नीको खसी ढाल्यो आँगनमा, तर ऊ 'चिकेन विङ्ग्स' लुछेर ढल्दियो।
बाउआमाको मन न हो, भान्छामा खसीको मासु पाक्दा डाइनिङ टेबलमा गोलबद्ध भएको बेलामा सानो–सानो टुक्रा बनाएर मुछेको भातमा छोपछाप पारिदिन्छौँ त्यसकी आमा र म। न स्वाद पाउँछ कि, न खान मन गर्छ कि भनेर। तर भेउ पाइहाल्छ। किलकिलेमा पुर्याएको मासुको टुक्रो पनि निल्दैन। त्यसैले पछिल्लो समय उसलाई हामीले खसीको मासुमा जोडबल गर्न छोडिदिएका थियौँ।
झोलसँग भने कहिलेकासो खाई टोपल्थ्यो आफैँ। हिजो पनि भएछ त्यही। खसीको मासुको झोलसँग भात खाएर सारसौँदो सुतेको ऊ दुई घण्टा जतिको अन्तरालमा फत्र्याकफत्र्याक। न बा, 'एपेन्डिसाइटिस' को सङ्केत हो कि भनेर आत्तिइछन् आमाचाहिँ। मध्यरातमा फसाद!
अस्पताल लाने, तर कसरी? घरमा दुईवटा दुईपाङ्ग्रे साधन त थिए। बा रातमा उति मेसो पाउनुहुन्न। बाटो छ फेरि विकासको बाकसबाट लुत्त निस्किएको सलल। दाइ देश बनाउन हिँड्नुभएछ, आफू 'घर' बनाउन हिँडेको। कसलाई गुहार्ने?
मेरो लँगौटी थियो एउटा। गौराती जात्रामा चिलाउनेको पात बाजी तास खेल्दाधरी बोट राखिदिन्थेँ म त्यसको। उसको बोलेरो छ कुखुरा बोक्ने। उसैलाई फोन गरिछ आमाचाहिँले। आउँदो स्थानीय चुनावमा 'घण्टी' बाट वडा अध्यक्ष ताकिरहेको उसको फोनमा पटक–पटक घण्टी जाँदा पनि फोन उठेनछ। रदिफकी आमाले सोची होली– निद्रामा परे होला बरा! तर, मलाई थाहा छ उसले किन फोन उठाएन। सम्बन्धको लँगौटी दुई–चार लाखको मामलाले चिलिम फर्किन्छ!
हाहारगुहार गरेर एम्बुलेन्सलाई फोन गरिछन्। नगरपालिका आसपासमा भएका दुईवटै एम्बुलेन्स चालक घरमा सुतिरहेका। एम्बुलेन्स अस्पताल परिसरमा। यहाँ एम्बुलेन्स कहाँ यति सजिलै आइपुग्छ र? शव वाहन भए भिन्दै कुरा।
सबै सम्भावनाहरू बन्द भएपछि स्थानीय बजारमा भएको एउटा भाडाको ट्याक्सीवालालाई गुहार मागेर अस्पताल लगिछन्। पेट दुखेर मुर्छा परेको केटालाई टाउकोदेखि खुट्टासम्म सरसर्ती हेरेर जिल्ला अस्पताल चौताराको आलिसान महल रुँगेर बसिरहेका एकजना 'फ्रन्ट म्यान' ले एक पत्ता सिटामोल थमाउँदै भनेछन्, 'सामान्य दुखाइ रहेछ। यो खुवाउनु ठिक हुन्छ। अहिले डाक्टरसाबहरू हुनुहुन्न।'
फन्नी एन्ड एट द सेम टाइम ह्वाट द हेल ! जटिल हुन सक्ने एपेन्डिसाइटिसको आशङ्कामा मध्यराति हस्याङफस्याङ अस्पताल पुर्याएको बच्चालाई बिना जाँचपडताल, बिना डाक्टरको प्रेस्क्रिप्सन सिटामोल कसले रिकमेन्ड गर्छ बे? सिटामोल, कफ सिरप, बेटाडिन, भिक्स लगायत दुई–चार थरी ओखती आजकाल एक–दुई बच्चाबच्ची भएका कसको घरमा हुँदैन? ५०–६० शय्याको प्रादेशिक अस्पताल भनेर चार भन्ज्याङ ढोल पिटिएको आलिसान अस्पतालमा मध्यराति नाथे सिटामोलको अपेक्षा गरेर को जान्छ?
रदिफकी आमाले घटनाक्रम बेलिबिस्तार लगाइसकेपछि भाउन्न छुट्यो। अलिकति चित्त दुख्यो। अलिकति रुन मन पनि लाग्यो देशको त्यो दुरावस्था देखेर। त्यो केटो बहुत सङ्क्रमणकालीन अवस्थाकाबीच यो संसारमा रमाना भएको थियो। पाँच–छ वर्ष मामाघरको करेसामा छुनुमुनु गरेर हुर्कियो। अस्ति भर्खर मात्र 'ल हिँड् पुर्खाको माटोमै जरा गाड्नुपर्छ' भनेर ऊसहित त्यसका बहिनी र आमालाई मैले 'घर' ल्याएको थिएँ। १५ दिन नबित्दै त्यसले बाउको छालामा स्वास्थ्य उपचारजस्तो अति सामान्य अधिकारबाट वञ्चित हुनुपर्यो। यस्तो बेला त्यसको ५ हजार किलोमिटर पर रहेको बाउचाहिँलाई हुनुपर्ने चाहिँ के हो खास, भाउन्न बाहेक?
५४–५५ सालतिर पिपलडाँडाबाट अस्पताल उक्लने टुँडिखेलको गौँडादेखि अस्पतालसम्म सिउँडीका बोटहरू थिए। पहेँलो फल फल्ने काँडा, सिउँडी, भुराहरूले बिस्ट्याएका गुहुवरिपरि बेसरम उम्रिएका घाँस–बुट्यानले त्यो बाटो सधैँ डरलाग्दो हुन्थ्यो। त्यसमाथि लाठेहरू भन्थे– 'अस्पताल मुन्तिर मुर्कुट्टा नाच्छ।' त्यसपछि त के चाहियो, केटाकेटीमा त्यो बाटो हिँड्दा सास कहीँ–कहीँ मात्र फेरिन्थ्यो। सुईको रन्कामा अस्पतालको दैलाबाट कुदेको म एकैचोटि भेटेरिनरीको धारो वा पालेको वनमा पुगेर सास फेर्थेँ।
ओखतीमुलोको व्यवस्था उति थिएन। तीन महिनामा एकचोटि त म अस्पताल गएकै हुन्थेँ– चाकको फिलामा सुई लाउन। गोडातिर अनेक लोकल घाउ–खटिरा आइरहन्थ्यो। अहिले सम्झँदा पनि जिउ सक्सकाएर आउने ती घाउ–खटिराको एउटै निदान थियो अस्पतालमा– चाकको पुट्ठामा ५ सुई रोपिदिने, घाउमा मसीजस्तो निलो झोल दल्दिने।
अस्पतालमा चौताराकै एकजना हात्तीको वजन बराबरको वजन भएकी कर्मचारी थिइन्। अर्का छापतिरका सिकुटे–सिकुटे कर्मचारी थिए। ती सिकुटे कर्मचारी अक्सर अस्पतालको करिडोरमा उभिएर पिपलडाँडातिर फर्किएर याक चुरोट तानिरहेका हुन्थे गम्भीर मुद्रामा। ओहो ! याक चुरोट खाने डाक्टर? यिनलाई पिर पनि ठुलै परेको होला, म यस्तै सोच्थेँ।
अक्सर तिनैले सुई रोपिदिन्थे मेरो फिलामा। नारायण गोपालको जस्तो फ्रेमवाला चस्मा लगाउने छापका 'डाक्टर' ले त तैबिसेक, तर ती 'एलिफेन्ट फिगर' अर्की महिला कर्मचारीले सुई लगाइदिँदा त मेरी आम्मै! पिसाबै फुस्किन्थ्यो। यसरी अस्पतालले मेरो मगजमा यातना गृहको छाप छोडेर गयो।
ब्याक टु बयासी साल
अस्पताल मुर्कुट्टा नाच्ने बेसरमको झाडीजस्तो छैन आजकाल। कङ्क्रिटको भव्य महलमा रूपान्तरित भएको छ। त्यसको चारैतिर आजकल मुर्कुट्टाहरू होइन, ड्रोनहरू नाच्छन्। ती ड्रोनहरूले अस्पतालको व्यवस्थापनलाई हरिबिजोग बनाउने सरदार को–को हुन्, उनीहरूको बदमासी खिच्दैनन्। टिभीमा बोल्ड अक्षरमा अस्पतालले पुरस्कार पाएको, कुन्नि के–के जातिमा उत्कृष्ट भएको फुटेज कुद्छ, बिरामीले हैरानी पाएको कुरो कुद्दैन। रेडियोले अस्पतालको हाकिमको अन्तर्वार्ता बजाउँछ, बुढाबुढी र बालबच्चाको सुर्ता बजाउँदैन।
तीन दशकपछि अस्पताल रोपनीमा फैलिएको छ। व्यवस्थित भवन र संरचनाहरू खडा गरिएको छ। धेरथोर जोरजाम उपचार गर्ने उपकरणहरू पनि छन्। महाभूकम्पले ढलेको अस्पताल अहिले चिन्नै नसकिने संरचनामा सरेको छ। तर, अस्पतालबाट प्रवाह हुने सेवा?
तीन दशकमा नजाने तीन दर्जन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फेरिए होलान्। तीन दर्जन अस्पताल प्रमुख फेरिए होलान्। केन्द्रीय र स्थानीय गरी तीन दर्जनचोटि सरकार फेरियो होला। तीन दर्जन स्वास्थ्य मन्त्री फेरिए होलान्। तर, अस्पतालबाट प्रवाह भइरहेको सेवा तीन दशक अगाडिबाट डेग चल्न सकेको छैन। साठीको दशकमा जिल्ला अस्पताल चौतारालाई 'ज्यानमारा' अस्पताल भन्थे सेवाग्राहीहरू। सत्तरीको दशकमा त्यो छवि बदलिएर 'रिफर सेन्टर' भयो। अहिले यो अस्पतालमा छानातिर ड्रोन उड्छ, आँगनतिरबाट सिटामोल बाँडिन्छ।
विडम्बना यत्तिमै सकिँदैन, अस्पताल परिसरमा एम्बुलेन्स बिरामी कम, लास बढी कुरेर बसिरहेको हुन्छ। किनकि उपचारको भन्दा सद्गतको रेट बढी छ मार्केटमा। अब सवाल आउँछ– घाइतेलाई ठिक बनाउने अस्पतालको यस्तो बिचल्ली किन र कसले बनायो? अस्पताल आफैँ कसरी बिरामी पऱ्यो? उनीहरूको अनुहार फरक–फरक छ जसले यो बिचल्लीको जिम्मा दामासाहीले लिनुपर्छ।
दश शय्याबाट सुरु भएको जिल्ला अस्पताल चौतारा अहिले प्रादेशिक ५० वा ६० शय्याको हो। दश शय्याबाट सुरु भएर अहिले ५०–६० शय्यामा स्तरोन्नति हुनु आफैँमा महत्त्वपूर्ण उपलब्धि हो। यति हुनुमा विभिन्न समय र कालखण्डमा भगीरथ प्रयत्न गर्नेहरूप्रति नमन छ। तर, सेवाग्राहीले हिसाब गर्ने शय्या हो कि त्यहाँबाट प्रवाह भइरहेको स्वास्थ्य उपचार? महलजस्तो अस्पताल भवन निर्माणका लागि प्रदेशबाट, केन्द्रबाट, मन्त्रालयबाट, विभागबाट बजेट वा आवश्यक स्रोत जुटाउन गानो जाने गरी लागिपरेका जिल्लास्थित राजनीतिक दलका 'मुखिया' हरू त्यही अस्पतालबाट प्रवाह गर्नुपर्ने अत्यावश्यक सेवा–सुविधा, डाक्टरको परिपूर्ति, एम्बुलेन्स लगायत यातायातका साधनको व्यवस्थापन गर्न चाहिँ किन उदासीन?
मालपानीमा 'हल्का' तर मार्न पाइने शीर्षकमा चाहिँ कुलेलम ठोक्ने स्थानीय राजनीतिज्ञहरू अस्पतालको सेवा–सुविधा विस्तारमा चाहिँ किन तर्केका? मलमलको साडीमा पोलिस्टरको टालो भनेझैँ महलतुल्य अस्पताल भवन रुँगेर बसेको छ एउटा श्रेणीविहीन कर्मचारी, जो एपेन्डिसाइटिस सम्भावित बिरामीलाई सिटामोल प्रेस्क्राइब गरिरहेछ। के रमिता हो मुलुकमा? कहिलेसम्म हेर्नुपर्ने हो यो रमिता?
अर्को रमिता छ जिल्लाका सञ्चारकर्मीहरूको। पछिल्लो समय जिल्लाका सञ्चारकर्मी साथीहरू मान्छेलाई देव र देवलाई दानव करार गर्न उद्यत देखिन्छन्। एउटा डाक्टर उसले गर्नै पर्ने काम गर्न अस्पतालमा खटिएर आउँछ। उसको पूजा–अर्चना गरेर महिना दिनमै डाक्टरबाट 'देउता' बनाइदिएका छन्।
'ल सर/म्याम चिया खाऔँ' भनेर क्वाटरमा बोलाउँछन्। पत्रकार साथीहरू भावविह्वल भइहाल्छन्। खाँदाखाँदैको गाँस छोडेर, लेख्दालेख्दैको समाचार छोडेर, खिच्दाखिच्दैको फुटेज छोडेर कुदि त हाल्छन्। अनि भोलिपल्टदेखि 'देखिस् मेरो एक्सेस कहाँसम्म छ? मैले जे रिपोर्टिङ गरेँ त्यही हो ढुङ्गाको अक्षर, पत्याएनौ भने मेरो एक्सेस जो डाक्टरसम्म छ त्यही लगाएर किड्नी निकालिदिन्छु' को हाउभाउमा उत्रन्छन्।
चिया खान क्वाटर छिरेका पत्रकार साथीहरू निस्कँदा पहेँलो खामले मुख पुछ्दै निस्कन थालेपछि मुलुकमा 'टिस्यु' को इज्जत त पानीमै गइगयो। एकातिर अस्पतालको छतमा चारैतिरबाट ड्रोन उडाइरहेका छन्, उतातिर अस्पताल आउने सेवाग्राहीले जिम्मेवार निकायको खिल्ली उडाइरहेका छन्। 'कुछ सरम करो' साथीहरू।
हामी पत्रकारहरू अलि चाँडै भावुक भइहाल्छौँ। यो हाम्रो कमजोरी हो। यो कमजोरी हामीले बिना कुनै सर्त सच्याउनै पर्छ। होइन भने जिल्लामा हाम्रै फिचर, समाचार, स्रोत र कन्टेन्ट पढेर हुर्किएको एउटा पुस्ता 'पत्रकार दलाली छोड, दलाल पत्रकारिता छोड' भन्दै हाम्रो घर घेर्न आउँछ।
हुन त, तँ नाथे भैगाँडाले हामीलाई ट्युसन पढाउनुपर्दैन भन्ने पनि लाग्दो हो। एकाध साथीहरूले त मलाई पत्रकार महासंघबाट स्थानान्तरण लिएर यहाँ आएको तीन महिना पनि नबित्दै 'तँ भगौडा होस्, मेरो देशको बारेमा बोल्लास्' भनेर धारे हात नै लगाए। त्यसमा मेरो मौजुदा रोष वा आवेग केही पनि छैन। तर, सञ्चारकर्मीहरूले नजानिँदो किसिमले अस्पताललाई बिरामी, प्रहरीलाई चोर, हाकिमलाई घुस्याहा र नेतालाई हत्यारा बनाइरहनुभएको छ। र मैले, यतिखेर बिरामी बालखा छोरोलाई होइन, उपचार गर्ने अस्पताललाई चाहिँ भन्नु परिरहेको छ–'गेट वेल सून चौतारा अस्पताल।'
फकिर, डेथभ्याली
माघ २३, २०८२ शुक्रबार २०:५२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।